Pages

Oct 13, 2009

यस्तो पो लेख साह्रै राम्रो लाग्यो म सलाम गर्छु खगेन्द्र सङ्रौलालाई एक् पटक पढ्नुस् त तपाईंहरु पनि शायद तपाईं हरु लाई पनि राम्रो लाग्छ कि

यस्तो पनि सरकार!
खगेन्द्र संग्रौला
महिना दिनजसोअघि हाम्रा माधवश्री लौहचरीमा सवार भई नेपालगन्जतिर गएका थिए। कसैबाट तिनले सुनेछन् - माथि दुर्गम र विकट पहाडी भेगमा एक नारी सुत्केरी व्यथाबाट आक्रान्त भएकी छिन्। माधव लौहचरीमा हुइँकिदै हत्तपत्त माथि पुगे। तिनले कालसँग जुधिरहेकी ती महिलालाई काठमाडौं ल्याए। दुर्भाग्यवश, सन्तान बिग्रियो तर ती नारीको ज्यान भने जोगियो। माधवको यो नाटकीय करुणा प्रदर्शनलाई छापाको शीर्षक बनाउन भयङ्कर होडबाजी चल्यो। कतिपय ढ्याके दैनिकले त यसबारे सम्पादकीय नै ठोके। जब प्रधानमन्त्री माधव एक पीडाग्रस्त नारीको उद्धार गर्दै थिए, ठीक त्यही क्षणमा मुलुकभरि प्रसूति सेवा नपाएर सके हजारौँ नारीहरू आहत चित्कारसाथ छट्पटाइरहेका थिए। सके कति त अकथनीय पीडा झेल्दै एकबारको जुनीबाट अकालमै बिदा हुन अभिशप्त थिए। तर, अपवादलाई छाडेर सञ्चारका अधिकांश गुरुजीका नजरमा यो वृहत्तर सत्य पर्दै परेन। माधवकुमार नेपाल मुलुकका प्रधानमन्त्री हुन्, जसका हातमा सामान्य नागरिकको नियतिको बागडोर छ। तर, तिनले रोगी व्यवस्थाको वृक्षमा चढेर एउटा पहेँलो पात टिपेका के थिए, तिनको हाई-हाईले समस्त गगनमण्डल गुन्जियो। मानौँ तिनको यो करुणामा तीन करुणामयी महापुरुष बुद्ध, अशोक र गान्धीको एकमुष्ट उपस्थिति हुन गयो।
सञ्चारको लघुदृष्टियुक्त तारिफको लहरबाट माधवबाबु उत्पात फुर्किए। तिनलाई लाग्यो होला, चर्चामा छाइरहने र अमरत्व प्राप्त गर्ने काइदा त यो पो रहेछ बा! बस्, ती अर्को नाटक मञ्चन गर्न उत्ताउलिए। ती टुरिस्ट बसमा चढेर राजधानी नगरको परिक्रमामा निस्के। साथमा आफू सुहाउँदा यात्री उपप्रधानमन्त्री विजयकुमार गच्छदार र गृहमन्त्री भीमबहादुर रावल थिए। माधवश्रीगणको यो करुणामयी र कृपापूर्ण परिक्रमाको पावन उद्देश्य थियो - सहरको ट्राफिक व्यवस्थाको दशा, फोहोरमैला व्यवस्थापनको अवस्था र नागरिकको अमनचैनको स्थिति प्रत्यक्ष नजर गर्नु। तिनले नजर गरे र देखे - सबै कुरा गजप छ। अफ्नो छोटो शासनकालमा चौतर्फी चामत्कारिक सुधार भएको छ। तब न माधव सरकार! बसविहारी शासकहरूको यस चर्तिकलाले मलाई राणा र शाह शासकका सोचाइ र संस्कृतिको याद दिलायो। राणा शासकका छोराहरू आमाको गर्भबाटै जर्नेलको फुली लगाएर निस्कन्थे। शाह शासकको जेठो छोरो निधारमा युवराजाधिराजको र बाँकी छोरा अधिराजकुमारको छाप ठोकेर धरतीमा झर्थे। सिङ्गै मुलुक लुटेर ती सबै सुविधा, सुरक्षा र सुखले भरिपूर्ण दरबारमा हुर्कन्थे। शोषित र उत्पीडित प्रजाको जीवनका अभाव, दुःख र हुर्मतहरूको तिनलाई एक पित्कोसम्म पनि ज्ञान हुँदैनथ्यो। तिनलाई लाग्थ्यो, हामी अखण्ड चैनमा बाँचेका छौँ, तसर्थ प्रजाको हालचाल पनि यस्तै दिलखुस होला। प्रजाहरूको जीवनबारे सर्वथा अज्ञानी राजा त्रिभुवनले एक प्रजालाई 'तिमीहरूले दूध-भात पनि पेटभरि खान पाएका छैनौ त?' भनी सोधेको हरिप प्रश्न लोकलाई कंठै छ।
कुन लोकका मानव हुन् यी माधव, गच्छदार र रावल, जसलाई काठमाडौंको ट्राफिक, फोहोरमैला र सुरक्षाको हालत बुझ्न नगर परिक्रमै गर्नु जरुरी भइसक्यो? के यिनका शासक बन्नुअघिका सम्झना यति छिटै मेटिएर गइसके? गइसके भने राजधानीको चौतर्फी भद्रगोल, कुइगन्ध, कोलाहल र दुर्दशा बुझ्न उच्च दर्जाका यी मानवहरू माइक्रो भ्यान वा बसको ढोकाबाहिर झुन्डिएर दिनभरि राजधानी घुमून्। यिनले ट्राफिकको भद्रगोल भोगून्, सडकको कुइगन्ध सुँघून् र जनजीवनको कष्टकर यथार्थबोध गरून्। यी वातानुकलित वाहनमा साइरन आतंक अघि लाएर सडकमा सवार हुन्छन् र ठान्छन् - मलाई मोज छ, तसर्थ ममार्फत् अरूलाई पनि मोजै होला। यी गगन मार्गमा हेलिकप्टरमा सवार हुन्छन् र ठान्छन् - मेरो यात्रा अवरोधमुक्त छ, तसर्थ मेरो यात्रामार्फत् अरुहरूको यात्रा पनि यस्तै होला। कडा सुरक्षापङ्क्तिभित्र यी सुरक्षित छन् र ठान्छन् - मेरो सुरक्षामार्फत अरुहरूलाई पनि सुरक्षाबोध भएकै होला। ठीकै हो, पहिले राणा र शाह शासकहरू पनि त यस्तै ठान्थे।पर्यटक बसमा मस्ती मुद्रामा नगर परिक्रमा गरेपछि गृहमन्त्री रावलले सगर्व उद्घोष गरे - अहा! ट्राफिक व्यवस्थामा भव्य सुधार भएछ। हेक्का रहोस् पाठकवृन्द! त्यसै दिन साँझपख गृहमन्त्री रावलको हवाइ कल्पनामा सुध्रिएको ट्राफिक व्यवस्था भोग गर्दै खानीखोलाबाट चाबेल आइपुग्न मलाई पूरापूर चार घन्टा लाग्यो। नगरपरिक्रमापछि प्रधानमन्त्री माधवबाट सगौरव आज्ञा भयो - मेरो कार्यकालमा हर चीज द्रूततर गतिमा ठीकठाक हुँदो छ। स्मरण रहोस् पाठकवृन्द! मानौँ देश-दुनियाँ अमनचैनको अखण्ड आनन्दमा डुबेको अनुभूत गर्दै माधवबाबु कानसम्म मुख च्यातिने गरी हाँस्दै राजधानीमा घुमिरहँदा नेपालको पश्चिम भेगमा के हुँदैथियो? बाढी-पहिरोको व्याधीले नरनारी आतंकित भएका थिए। कति पहिरोमा पुरिएर स्वर्गे भइसकेका थिए, कति त्यसमा च्यापिएर उद्धारका लागि करुण पुकार गरिरहेका थिए, कति भेल उर्लिएको नदीकिनारको रुखमा अड्किएर कुनै देवदूत आओस् र आफूलाई बचाओस् भनी रातभरि रोइकराई गरिरहेका थिए।
दायित्वबोध, अन्तर्दृष्टि र दूरदृष्टि हुने प्रधानमन्त्रीले मुलुकका समस्याहरूको समाधान प्रणालीमा खोज्छ। संस्थागत संरचनामा खोज्छ। समग्रतामा खोज्छ। तर प्रधानमन्त्री माधव नाकअगाडि भन्किने झिँगोलाई मात्र देख्छन्, त्यसैको गुनगुनमात्र सुन्छन्। लाग्छ, हाम्रा माधवश्री समस्याको टुत्रे समाधानकारी उस्ताद हुन्। यिनको टुत्रे समाधान विधिले गति लिँदा विचित्रको झाँकी देख्न सकिने छ। मानौँ कुनै किसानले प्रम माधवछेउ आफ्नो बालीमा रोग लागेको गुनासो गर्‍यो। प्रमजी अब के गर्छन्? माधवबाबु कीटनाशक विखादिको सिलिन्डर भिरेर आफैँ बालीमा हाजिर हुन्छन्। यात्रुले बसमा भद्रगोल भएको दुखेसो पोखोस्, ती आफैँ खलासी कर्म गर्न तम्सिन्छन्। नागरिकले बस चालकको लापर्वाहीबारे उजुरी गरोस्, ती आफै स्टियरिङ समात्न पुग्छन्। निरक्षरतापीडित गाउँलेले दुःख पोखोस्, ती आफैँ खरी र पाटी बोकेर गाउँतिर हानिन्छन्। नगरवासीले फोहोरमैलाबारे गनगन गरोस्, ती आफैँ साबेल र डोको बोकेर फोहोर उठाउन हाजिर हुन्छन्। एवंरीतले खलासी आफैँ , चालक आफैँ, जेटीए आफैँ, मास्टर आफैँ, सफाइकर्मी आफैँ, सकल सेवाका आपूर्तिकर्ता आफैँ। एउटै माधवबाट यो बहुआयामिक भूमिका सम्पन्न गर्न असम्भव हुने हुँदा क्लोनिङ प्रविधिको माध्यमले कम्तीमा पनि पचास लाख माधवहरूको सृष्टि गर्नु जरुरी छ। प्रमका सल्लाहकारहरूले कुरो बुझून्।
शान्ति-प्रक्रियामा धाँजा फाटे फाटून्, प्रधानमन्त्री माधव र मातहतका मन्त्रीहरू चिन्तामुक्त छन्। रक्षामन्त्री भण्डारी शान्ति सम्झौताको लिखतमा आगो झोस्दै सेना भर्तीको फर्मान जारी गरून् अथवा माओवादी लडाकु आआफ्ना घर जाऊन् भनी गृहयुद्धको उपासना गरून्, यिनलाई कुनै चिन्ता छैन। चिन्ता छ त आआफ्ना धनदायी एवं सुखदायी कुर्सीहरूको दिर्घायुको मात्र। चिन्ता छ त असन्तुलित र दिग्भ्रान्त मनोदशामा नौटंकी अभिनय गर्दै सञ्चारको संसारमा समाचार बन्नुको मात्र।हे हरि, यस्तो पनि सरकार!(nagarik news bata)

1 comment:

Anonymous said...

gud job i like it