Pages

Jan 2, 2010

विन्डोज सेभेन नेपालीमा

नेपाली विन्डोज सेभेनको विकास कार्य अन्तिम चरणमा पुगेको छ। ‘वैशाख महिनामा प्रयोगकर्तामाझ ल्याउनेगरी हामी तयारी गर्दैछौं,' माइक्रोसफ्ट नेपालका प्रमुख एलन वैलोचन तुलाधर भन्छन्। माइक्रोसफ्टले यसअघि बजारमा ल्याएको ओएस भिस्टाको पनि नेपाली संस्करण बनाएको थियो।

विन्डोज सेभेन केही महिनाअगाडि मात्र बजारमा आएको हो। ओएस भिस्टाबाट ठक्कर खाएको माइक्रोसफ्टको विन्डोज सेभेन (अंग्रेजी संस्करण) सोचेभन्दा बढी विश्वबजारमा बिक्री भैरहेको छ। माइक्रोसफ्ट नेपालमार्फत विन्डोज सेभेन १० हजारभन्दा बढी नेपाली कलेज विद्यार्थीले निशुल्क आफ्ना पर्सनल कम्प्युटरमा राखिसकेका छन्। अब यो संख्या २० हजार पुर्‍याउन माइक्रोसफ्ट नेपाल लागेको छ। यसैबाट हौसिएको माइक्रोसफ्टले यसको नेपाली संस्करण नयाँ वर्ष २०६७ को उपहारस्वरुप निशुल्क नेपालीमाझ उपलब्ध गराउने तयारी गरेको छ।



विन्डोज सेभेन (नेपाली संस्करण)

विन्डोज सेभेनको नेपाली र अंग्रेजी संस्करणमा खासै फरक छैन। मात्र भाषा फरक हुनेछ। ओएसमा प्रयोग गरिएका सम्पूर्ण फिचर्स हुबहु छन्। भाषासम्बन्धी फिचर्समा भने केही भिन्नता भेटिन्छ। माइक्रोसफट्को प्रावधान नै यस्तै छ - स्थानीयकरण गर्दा भाषाबाहेक अन्य फिचर्समा फेरबदल गर्न पाइने छैन। अर्थात, अंग्रजी संस्करणमा भन्दा नेपाली संस्करणका उपभोक्ताले बढी सुविधा पाउनेछन्।

अधिकांश प्रयोगकर्ताले विन्डोज एक्सपी ओस प्रयोग गरेका छन्। ज्यादै थोरैकोमा विन्डोज भिस्टा छ। भिस्टाभन्दा एक्सपी पुरानो ओएस भएपनि प्रयोगकर्ता भिस्टामा रहेका प्राविधिक कठिनाइका कारण एक्सपीमा अडिग रहे। यसैकारण माइक्रोसफ्टले भिस्टा ल्याएको तीन वर्ष बित्न नपाउँदै विन्डोज सेभेन ल्याउन बाध्य भयो।

नेपाली विन्डोज सेभेनमा अक्षरको आकार (फन्ट साइज) केही सानो पारिएको छ। साना ल्यापटप, नोट बुक र मोबाइलमा समेत स्क्रिन पूरा अटोस् भनेर अक्षरको आकार घटाइएको हो।

एक्सपी र भिस्टामा समावेश गरिएका सेवालगायत विन्डोज सेभेनमा थुप्रै नयाँ फिचर्स समावेश गरिएको छ। विन्डोज सेभेन बढी सुरक्षा केन्द्रित बनाइएको छ। र, यसको अर्को विशेषता भनेको अघिल्ला ओएसभन्दा यो बढी छिटोछरितो छ। धेरै नयाँ फिचर्स समेटिए पनि यसमा खास ७ वटा फिचर्स छन्, जसले प्रयोगकर्ताको ध्यान बढी खिच्नेछ। माइक्रोसफ्टले यसलाई ‘सेभेन वन्डर्स अफ विन्डोज सेभेन' नाम दिएको छ।

१) बिट लकर

कम्प्युटर वा ल्यापटपको हार्डडिस्क चोरी भए अब डराउनु पर्दैन। हार्डडिस्कमा भएका डाटा कसैले पढ्न सक्ने छैनन्। हार्डडिस्कमा रहेका डाटाको सुरक्षा गर्नेछ ‘बिट लकर' ले।

एक दसकयता बोकेर हिँड्ने प्रविधिको प्रयोग ह्वात्तै बढेको छ। मोबाइल, ल्यापटप, नोटबुक आदि हराउने वा चोरी हुने सम्भावन पनि उत्तिकै। पहिला हार्डडिस्क हराए वा चोरी भए अन्य कम्पयुटरमा राखेर पढ्न सकिन्थ्यो। डाटाको मिसयुज हुने सम्भावन उत्तिकै थियो। तर, विन्डोज सेभेनमा रहेको बिट लकरले कम्प्युटरको हार्डडिस्क लक गर्न सकिनेछ। लक गर्दा राखिएको पासवर्ड नमिलेसम्म हार्डडिस्कमा रहेका डाटा हेर्न सकिने छैन।

बिट लकर सेवा सजह रूपमा प्रयोग गर्न सकिन्छ। विन्डोज सेभेन इन्स्टल गरिसकेपछि ‘नियन्त्रण कक्ष' (कन्ट्रोल प्यानल) मा गएर ‘सुरक्षा' (सेक्युरिटी) आइकन क्लिक गर्नुपर्छ। त्यसपछि ‘बिट लकर' मा डबल क्लिक गरी कुन ड्राइभलाई विट लक गर्ने छनौटगरी ‘ओके' गरेपछि त्यहाँ रहेका डाटा सुरक्षित हुनेछन्। पाँच सय जिबी डाटालाई विट लक गर्न झन्डै सात घन्टा लाग्छ। तर एकपटक विट लक गरेपछि त्यो सदाका लागि हुनेछ।

बिट लकरले हराएको हार्डडिस्कबाट डाटा पुनः उपलब्ध भने गराउँदैन। यसले मात्र अरूले प्रयोग गर्न नसक्ने बनाउँछ। हार्डडिस्क चोरी गर्नेले तीन वर्षसम्म निरन्तर पासवर्ड परीक्षण गर्‍यो भनेचाहिँ हार्डडिस्क खुल्न सक्छ। तर तीन वर्ष निरन्तर पासवर्ड परीक्षण गरेर बस्ने फुर्सद नै कसलाई?

विन्डोज सेभेन सपोर्ट गर्ने मोबाइल प्रयोगकर्ताले समेत यो सुविधा पाउनेछन्। मोबाइल हराएमा एक एसएमएस पठाएको भरमा मोबाइलमा रहेका सम्पूर्ण डाटा मेटाउन सक्नेछन्।

बिट लकर सेवा उपभोग गर्दा अलि बढी नै होसियार रहनुपर्छ। यदि लगातार तीन पटकसम्म पासवर्ड गलत हानिएमा त्यसपछि कम्प्युटर नखुल्ने मात्र होइन हार्डडिस्कमा रहेका सम्पूर्ण डाटा मेटिनेछन्। जसलाई पुनः पाउन असम्भव छ।

२) युजर इन्टरफेस

विन्डोज सेभेनले प्रयोगकर्तालाई कम्प्युटर चलाउन निकै सहज बनाउने देखिन्छ। धेरैजसो कमान्ड एक क्लिकका भरमा उपलब्ध हुने बनाइएको छ। बढी प्रयोग गरिएका कमान्ड टुलबारमै रहनेछन्। टुलबारमा रहेका कमान्डमा माउस राइट क्लिक गरे सम्बन्धित कमान्डमा पछिल्लो समय काम गरिएका फाइल पनि उपलब्ध गराउनेछ।

जस्तो एक्सपी र भिस्टामा माइक्रोसफ्ट वर्ड खोल्न परे माउस तीन-चार पटक क्लिक गरेपछि मात्र सम्भव हुन्थ्यो। विन्डोज सेभेनले यस्ता सुविधा एक क्लिकमा उपलब्ध गराउँछ। कमान्ड खोजेर बस्नुपर्ने झन्झटबाट विन्डोज सेभेनले उपभोक्तालाई मुक्ति दिनेछ।

३) डेस्कटप सर्च

डेस्कटप सर्चलाई पहिलेका ओएसमा भन्दा निकै सशक्त पारिएको छ। सर्चमा गएर कुनै पनि शब्द टाइप गर्न थालेपछि पहिला त टाइप गरिएका अक्षरसँग मिल्नसक्ने शब्द सुझावका रूपमा प्रस्तुत गर्नेछ। शब्द पूरा टाइप गरिसकेपछि इन्टर नहान्दै सम्बन्धित शब्दसँग मेल खाने सम्पूर्ण फाइल देखाउनेछ। यसअघिका ओएसले यति छिटो र सुक्ष्म तरिकाले फाइल खोज्न सक्दैनथे।

४) इन्टरनेट एक्सप्लोरर एट

माइक्रोसफ्टले नयाँ ओएसमा इन्टरनेट एक्सप्लोररलाई उच्च प्राथमिकतासाथ डिजाइन गरेको छ। ‘इन्टरनेट एक्सप्लोरर एट' विन्डोज सेभेनमा समावेश गरिएको नयाँ सुविधा हो। यसमा नयाँ फिचर्स ‘ट्याब' राखिएको छ। सधैं खोलिरहनुपर्ने वेबसाइट ट्याबमा भेटिनेछन्।

इन्टरनेट एक्सप्लोरर एटको विशेषता भनेको यसले सपोर्ट नगर्ने वेबसाइट पनि पुरानै एक्सप्लोररमा गएर खोलिदिन्छ। जसका कारण वेबसाइटको स्वरुप बिग्रन पाउँदैन र आफूलाई चाहिने सूचना पढ्न तथा डाउनलोड गर्न सघाउनेछ। यदि कुनै वेबसाइटलाई इन्टरनेट एक्सप्लोरर एटले सपोर्ट गरेन भने ‘एड बार' को दायाँपट्टी रहेको ‘मिल्दोजुल्दो दृश्य' आइकनमा क्लिक गरेपछि पुरानो शैलीको एक्सप्लोररमा वेबसाइट खुल्नेछ।

यसमा सुरक्षा अनुप्रयोग (सेफ्टी फिचर्स) मजबुत छ। सुरक्षा टुलबारमा रहेको ‘इनप्राइभेट ब्राउजिङ' क्लिक गरी इन्टरनेट चलाए हेरिएका कुराहरू लोकल हार्डडिस्कमा गएर बस्दैन। यो सुविधा पुराना ओएसमा थिएन। ‘फ्यामेली सेफ्टी' (पारिवारिक सुरक्षा) यसमा पाइने अर्को राम्रो फिचर्स हो। यो फिचर्स अन गरिदिए बच्चाले नचाहिने कुरा इन्टरनेटमा हेर्न सक्ने छैनन्। यसका लागि बच्चाको छुट्टै लगइन चाहिन्छ।

इन्टरनेट एक्सप्लोरर एटको अर्को राम्रो पक्ष - यसले खोलिएका वेबसाइटका ठेगानालाई हाइलाइट गरेर देखाउँछ। हाइज्याक गरिएका वेबसाइट हेरिएको छ वा वास्तविक यही हाइलाइट हेर्नेबित्तिकै थाहा पाउन सकिन्छ। कहिलेकाहीँ एउटा वेबठेगाना हान्यो तर अर्कै साइट खुल्छ, जुन सामान्य प्रयोगकर्ताले थाहा पाउन गाह्रो थियो। तर अब यसको समाधान ल्याएको छ नयाँ एक्सप्लोररले।

५) क्यालकुलेटर

३० वर्षपछि माइक्रोसफ्टले क्यालकुलेटरमा फेरबदल गरेको छ। नेपाली विन्डोज सेभेनमा समावेश गरिएको क्यालकुलेटरबाट अब माना, पाथी, धार्नीमा समेत हिसाबकिताब गर्न सकिनेछ। कति मानाको पाथी, कति किलोको धार्नी सबै क्यालकुलेटरले सिकाउनेछ। केजीलाई धार्नी, माना, पाथीमा लैजानसमेत क्यालकुलेटर सक्षम छ। क्यालकुलेटरमा फिट, मिटर, रोपनी, बिगा, हात सबैमा हिसाब गर्न सकिनेछ। वैज्ञानिक र प्रोगामर दुईथरी क्यालकुलेटरलाई मर्ज गरी एउटा बनाइएको हो।

क्यालकुलेटरले पुराना क्यालेन्डर खोज्न नपर्ने पनि बनाएको छ। किनकी क्यालकुलेटरबाटै विक्रम सम्बतलाई इस्वी सम्बतमा लान सकिनेछ। अझ स्पष्ट भन्नुपर्दा एक्सएलका धेरै सुविधा क्यालकुलेटरमा समावेश गरिएको छ।

कति अंकको बीचमा कमा राख्ने हो त्यो क्यालकुलेटरमा आफै मिलाउन सकिनेछ। यसमा क्यालकुलेसन इतिहाससमेत हेर्न सकिन्छ। क्यालकुलेटरमा गरिएका हिसाब मेमोरीमा गएर बस्छ। त्यहीबाट पुराना जोडघटाउ हेर्न सकिनेछ।

६) वाचन पहिचान (स्पिच रिकग्नाइजेसन)

विन्डोज सेभेनको अर्को आकर्षक अनुप्रयोग ‘वाचन पहिचान' हो। विन्डोज सेभेनमा मौखिक आदेशका भरमा कम्प्युटर सञ्चालन गर्न सकिन्छ। बिनाकिबोर्ड र माउस यसमा काम गर्न सकिन्छ। जे बोल्यो त्यो कम्प्युटरले आफै टाइप गर्छ। यति मात्र होइन, यसले ह्रस्वदिर्घसमेत मिलाउन सक्छ। आवाजबाट पाठ (स्पिच टु टेक्स्ट) र पाठबाट आवाज (टेक्स्ट टु स्पिच) दुवै सुविधा यसमा छन्। अर्थात यसले पाठलाई पढेर सुनाउन र आवाजलाई पाठमा लैजान सक्छ।

नेपाली विन्डोज सेभेनको शब्दावलीमा ५८ हजार नेपाली मूल शब्द समावेश गरिएको छ। जसबाट दुई करोड नेपाली शब्द बनेका छन्। जसमध्ये ५ हजारभन्दा बढी त प्राविधिक शब्द नै छन्। गालीगलौज, मानहानी, विभेद जनाउने तीनसय भन्दा बढी शब्द यसमा ब्लक गरिएको छ।

७) मल्टिटच फिचर्स

विन्डोज सेभेन माउस, किबोर्ड, मौखिक आदेशको भरमा मात्र होइन औंलाले छोएर पनि चलाउन सकिन्छ। टच स्क्रिन मोबाइल निर्मातालाई चुनौती दिने गरी वन्डोज सेभेन विकास गरिएको छ। आइफोनमा जस्तै यसमा पनि औंलाले छोएर सबै काम गर्न सकिन्छ। तर, यसका लागि टच स्क्रिन मनिटर हुन अनिवार्य छ।

भिस्टामा सिंगल टच मात्र सम्भव थियो। विन्डोज सेभेनमा मल्टिटच सम्भव छ। विन्डोज सेभेन राखिएको ल्यापटपको स्क्रिनमात्र होइन ‘टच प्याड' बाट पनि मल्टिटच सुविधा प्रयोग गर्न सकिनेछ। स्क्रिनमा औंला चलाएको भरमा तस्बिर सानोठूलो, पाठ टाइप गर्न सकिनेछ।

अन्य महत्त्‍वपूर्ण सुविधा

विन्डोज सेभेनमा अन्य यस्ता सुविधा पनि छन् जुन पहिलाका ओएसमा समावेश गरिएको थिएन। यी सुविधा प्रयोग गर्न पाउँदा साँच्चै नै प्रयोगकर्ता एकछिन चकित पर्नेछन्। ‘पावर सेल' यिनैमध्ये एउटा सुविधा हो। यसमा डस, लिनक्स र म्याकका कमान्ड चलाउन सकिन्छ। माउस र किबोर्डले गर्न नसक्ने कम्प्युटर नियन्त्रण पावर सेलबाट गर्न सकिन्छ। खासगरी यो प्राविधिक प्रयोगकर्ताको लागि बनाइएको हो।

विन्डेज सेभेनभित्र रहेर पुरानो ओएस एक्सपी पनि चलाउन सकिन्छ। यो यसको अर्को विशेषता हो। एक्सपीका प्रयोगकर्ता बढी भएका कारण माइक्रोसफ्टले यसलाई चलाउन मिल्ने गराएको हो। अर्थात नयाँ र पुरानो प्रविधि एकसाथ चलाउन सकिनेछ। ‘विन्डोज एक्सपी मोड' डाउनलोड गरेपछि मात्र विन्डोज सेभेनभित्र रहेर एक्सपी चलाउन सकिनेछ। विन्डोज एक्सपी मोड इन्टरनेटबाट निशुल्क डाउनलोड गर्न पाइन्छ।

‘एरो सेक' अर्को महत्त्‍वपूर्ण सेवा यसमा समावेश गरिएको छ। खोलिएकोमध्ये अगाडिको विन्डोमा गएर माउसको एरो हल्लाउने हो भने पछाडिका सबै विन्डो मिनिमाइज हुन्छन्। माउसको एरो पुनः हल्लाए मिनिमाइज भएका सबै विन्डो खुल्छ।

अर्को महत्त्‍वपूर्ण सुविधा भनेको नेपाली विन्डोज सेभेन राखिएको कम्प्युटरमा यसको अंग्रेजी संस्करण पनि एकसाथ चलाउन सकिनेछ। यो सुविधा पहिलेको ओएसमा थिएन। पहिला नेपालीबाट अंग्रेजी संस्करणमा जानुपरे कम्प्युटर ‘रिबुट' गर्नुपर्थ्यो। विन्डोज सेभेनमा बहुबुट गर्ने सुविधा राखिएको छ। एकसाथ नेपाली र अंग्रेजी संस्करण इन्स्टल गर्न सकिनेछ।

इन्स्टल कसरी गर्ने

विन्डोज सेभेनको नेपाली र अंग्रेजी संस्करण इन्स्टल गर्ने प्रक्रिया, यसको लागि चाहिने आवश्यक न्यूनतम हार्डवेयर सबै एउटै हो। अंग्रेजीजस्तै नेपाली संस्करण पनि ३२ बिट र ६४ बिट कम्प्युटरमा चल्नेछ। यी दुवै कम्प्युटरका लागि भिन्दाभिन्दै ओएस तयार पारिएको छ। तर, सुविधामा भने खासै भिन्नता छैन।

विन्डोज सेभेनको लागि सिपियु एक गिगा हर्ज वा योभन्दा द्रुत गतिको चाहिन्छ। र्‍याम भने ३२ बिट कम्प्युटरमा एक गिगा बाइट्स (जिबी) र ६४ बिट कम्प्युटरमा दुई जिबी हुन जरुरी छ। ग्राफिक्स प्रोसेसिङ युनिट ‘एरो क्यापेबल' छ। भिडियो र्‍याम १२८ मेगाबाइट्स (सेयर्ड) आवश्यक पर्छ। हार्डडिस्क ३२ बिट कम्प्युटरको लागि १६ जिबी र ६४ बिट कम्प्युटरको लागि २० जिबी अनिवार्य छ। अप्टिकल ड्राइभमा डिभिडी वा युएसबीमध्ये एक भए हुन्छ।

विन्डोज सेभेन इन्स्टल गर्ने सोच छ भने पहिला आफ्नो कम्प्युटर तथा ल्यापटपमा माथि उल्लेख गरिएका न्यूनतम हार्डवेयर आवश्यकता मेल खान्छ कि खाँदैन चेक गर्नुपर्छ। यो थाहा पाउन गाह्रो छैन।
१) पहिला कम्प्युटरको ‘स्टार्ट' बटन क्लिक गर्नोस्
२) त्यसपछि ‘माई कम्प्युटर' मा राइट क्लिक गर्नोस्, अनि ‘प्रोपर्टिज' मा
यति गरेपछि ‘सिस्टम प्रोपर्टिज' स्क्रिनमा खुल्छ। त्यहीँ सबै जानकारी राखिएको हन्छ - कम्प्युटरमा कुन ओएस छ, कति जिबी हार्डडिस्क, र्‍याम कति छ, कति बिटको कम्प्युटर आदि। सिस्टम प्रोपर्टिजमा यदि ‘एक्स ६४ एडिसन' देखिएन भने बुझ्नुपर्नेछ कम्प्युटर ३२ बिटमा चलिरहेको छ।

यदि तपार्इंको कम्प्युटरमा एक्सपी र भिस्टामध्ये एक ओएस छ भने बुझ्नुपर्नेछ त्यसमा विन्डोज सेभेन चल्नेछ। सम्भवतः विन्डोज सेभेन ३२ बिट कम्प्युटरमा चल्ने माइक्रोसफ्टको अन्तिम ओएस हुनेछ। धेरै प्रयोगकर्ता एक्सपीमै अडिग रहेका कारण विन्डोज सेभेनलाई ३२ बिट कम्प्युटरमा समेत चल्नेगरी विकास गरिएको हो।

एक्सपी ओएस रहेको कम्प्युटरमा केवल ‘सी' ड्राइभ मात्र फरम्याट गरे हुन्छ। पहिला सी ड्राइभमा रहेका आवश्यक फाइललाई सुरक्षित राख्नुपर्छ। यसको लागि माइक्रोसफ्टको आधिकारिक साइटमा गएर ‘विन्डोज इजी ट्रान्फर' (बेट) टुल डाउनलोड गर्नुपर्छ। यो डाउनलोड गर्नेबित्तिकै सी ड्राइभमा रहेका फाइल ब्याकअप गर्नेछ। अनि सुरु गर्नुपर्छ विन्डोज सेभेन इन्स्टल गर्न। इन्स्टल भैसकेपछि कम्प्युटरमा रहेको बेट टुलमा गएर क्लिक गरेपछि सी ड्राइभका फाइल पुनः प्राप्त गर्न सकिन्छ

(nagarik news bata)