Pages

Oct 5, 2009

लजालु ठिटा थिए प्रचण्ड

'गोरो वर्ण, ठिक्कको कद । जुँगाको भर्खर रेखी बसेको थियो । घरमा बिहान हलो जोतेको देखिन्थ्यो । र, पनि स्कुलमा ऊ समयमै पुग्थ्यो । धेरै नबोल्ने लजालु स्वभावको । सधैं ध्यान दिएर सुन्ने, सोधेको चुपचाप भन्ने । शिक्षकलाई टाउको उठाएरसमेत नहेर्ने । ठूलो आवाजमा कहिल्यै नबोल्ने । यस्ता गुण त कति कति । एउटा शिक्षकले कल्पना गरेको विद्यार्थीभन्दा धेरैगुणा राम्रो बानी थियो पुष्पकमलको ।' भरतपुर, चितवनको बुद्धचोकस्थित आफ्नो निवासमा ४० वर्ष अगाडिको छविलाल अर्थात् अहिलेका चर्चित राजनीतिज्ञ प्रचण्डको विशेषता सुनाए, 'हेडसर' राजकृष्ण कँडेलले । उनी माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका स्कुले हेडसर थिए ।

लिंकन कलेज काठमाडौंमा गतवर्ष गरिएको सम्मान कार्यक्रममा प्रचण्डले यिनै हेडसरलाई 'ऐतिहासिक प्रेरक' को संज्ञा दिए । आफ्ना सफलताका कथा सुनाउँदा हेडसरको कथा कहिल्यै छुटाउँदैनन् उनी । त्यो देख्दा यी हेडसरलाई 'औधि' खुसी लाग्छ । भने, 'मेरो शिक्षण पेसा सफल भयो । मेरा विद्यार्थी सफल छन् र तिनले मलाई सम्मान गर्छन् ।'
अहिले पुष्पकमल हेडसरले भनेजस्ता देखिन्नन् । उनी लजालु पनि छैनन् र कम बोल्ने पनि होइनन्, बरू कहिलेकाहीँ धेरै बोलेर 'सताउँछन्' । प्रचण्ड खुल्लामञ्चमा कड्किँदा थानकोट थर्किन्छ । माओवादीहरू त यसोसम्म भन्छन्- हाम्रा अध्यक्ष बोल्दा साम्राज्यवादी अमेरिका पनि झस्कन्छ । यो देख्दा र सुन्दा उनका पुराना हेडसरलाई कस्तो लाग्छ ? 'उहाँ (स्नातक भइसकेका विद्यार्थीलाई तपाइं भन्दारहेछन्) समयअनुसार चल्नुभयो । त्यसैले त सफल हुनुभयो । उहाँ प्रस्तुत हुने शैली फरक भएको हो । स्वभाव होइन,' हेडसरले भने ।
अहिलेको बहुचर्चित नाम प्रचण्ड पुष्पकमलको तेस्रो नाम हो । छविलाल, पुष्पकमल अनि प्रचण्ड । छविलाललाई पुष्पकमल बनाउनुमा यी हेडसरको पनि हात छ । छविलाललाई चिनेको तीन महिना नहुदै यिनले नाम फेरिदिए । 'फूलजस्तै सुन्दर हुनुहुन्थ्यो । स्वभाव अत्यन्तै नरम । नाम त सुहाउँदो थिएन नि,' उनले कारण सुनाए, 'शालिग्राम तिमिल्सिना नेपाली शिक्षक थिए । दुईजना मिलेर नाम जुरायौँ- पुष्पकमल । नौ कक्षाको रजिस्ट्रेसन र्फममा त्यही नाम राख्यौँ ।' त्यसपछि छवि पुष्प भए, सधैंलाई ।
माओवादीले आन्दोलन सुरु गरेपछि पुष्पबाट प्रचण्ड भए छवि । आफूले शब्दकोश हेरेर जुराइदिएको नाम फ्याट्ट फेर्दा यिनको चित्त पो दुख्यो कि ? 'दुखेन, हामीले राखेको नाम मन नपरेको भए पहिला नै हुन्न भन्नुहुन्थ्यो । उहाँले यो नाम मन पराउनुभएको थियो । उहाँले मात्र होइन, अधिकांशले पार्टीको नाम राखे । त्यसो गर्नु मैले राखेको नामको अपमान होइन,' उनले भने ।
प्रचण्ड प्रधानमन्त्री भएलगत्तै धेरै पत्रिका र टेलिभिजनले उनको नागरिकताको नाम पुष्पकमल दाहाल प्रयोग गर्न थाले । यही विषयमा प्रचण्डलाई सोधियो, 'तपाइर्ंलाई कुन नाम मन पर्छ ?' उनले जवाफ दिए, 'जनताले मलाई प्रचण्ड भनेर चिन्छन्, त्यही प्रचण्ड मन पर्छ ।' यस्तोवेला हेडसरलाई कस्तो अनुभूति भयो ? 'केही लागेन, मैले केही सोचिनँ,' उनले भने । पक्कै सोचेनन् ?
त्यतिवेला विद्यार्थी संख्या निकै कम हुन्थ्यो । मुस्किलले पच्चीस या तीस । त्यसैले प्रायः सबै विद्यार्थीका आनीबानी, रुचि, स्वभावबारे गुरुहरूलाई धेरै ज्ञान हुन्थ्यो । पुष्पको आर्थिक अवस्था नाजुक थियो । किसानी गर्नुपथ्र्या । घरमा दाजुभाइ दिदीबहिनी धेरै थिए । उनी घरमा पहिल्यैदेखि काम गर्थे । तर, कामले पढाइ कहिल्यै बिगारेनन् । तीमध्ये छवि हेडसरसँग चाँडो नजिकिए ।
'असाध्यै राम्रा विद्यार्थी हुनुहुन्थ्यो । आँखा झिमिक्क नगरी सुन्ने,' उनले भने । यिनले अंग्रेजी पढाउँथे । उनको अक्षर राम्रा थिए । उनको मर्मलाई टपक्क टिप्न सक्ने क्षमता थियो रे प्रचण्डमा । मेरो 'कुरालाई दुरुस्तै राख्न सक्ने हुनुहुन्थ्यो उहाँ,' उनले भने । गाउँमा मानिस कम थिए । तर, बद्मासको भने कुनै कमी थिएन । किशोरहरू कसरी झगडा गर्ने ? निहु खोजिरहन्थे । पुष्प त्यसमा पर्दैनथे । बरू झगडा मिलाउँदै गरेको देखिन्थे । राजकृष्ण ०२५ साल चैत ७ गते अंग्रेजी शिक्षकका रूपमा छिरे । ०२६ असोज १३ गते प्राचार्य भए ।
राजकृष्ण भन्छन्, 'पुष्पकमल सशस्त्र आन्दोलन गर्न सक्ने मानिस होइनन् ।' कक्षामा पुष्पका साथीहरू सुनाउँथे, 'यो त बाटोमा कमिला मर्छ भनेर हेर्दै हिँड्छ ।' उनी साँच्चिकै दयालु छन् । 'मैले चिनेको पुष्पले मानिस मार्ने त कल्पना पनि गर्न सक्दिनँ,' उनको विश्वास छ । कतिलाई यो ठट्टा वा व्यंग्यजस्तो पनि लाग्न सक्छ । हजारौंको ज्यान जाने (बलिदान भन्ने कि ?) जनयुद्धको नेतृत्व पनि त्यही पुष्पकमलले त गरेको थियो । यो आन्दोलनको शैली प्रचण्डको हुँदै होइन भन्ने लाग्दोरहेछ हेडसरलाई । 'यो योजना अरूको हो, पार्टीको नेता भएको हिसाबले स्वीकार्न बाध्य भएका हुन् कि,' हेडसरलाई त अझै यस्तो शंका पनि रहेछ । यो शंकाका पछाडि कारण पनि छ रे ।
२०३२ सालतिर भरतपुर अस्पतालमा हेडसर र प्रचण्ड दुवैको भेट भयो । प्रचण्डले आफ्ना हेडसरसँग झापा आन्दोलनका विषयमा कुरा राखे, 'मान्छे काटेर सत्ता कब्जा हुँदैन । सिपीले कहिले बुभ\mने कुन्नि ?' पछि त त्यसको ठीक उल्टो भयो । सिपी चुनावतिर लागे । प्रचण्ड युद्धतिर । 'उनको स्वभावले त हिंसात्मक राजनीति गर्नै नसकिने कुरा हो,' उनले आफ्नो विश्वास फेरि दोहोर्‍याए । तर, 'हुने हार, दैव नटार' भनेजस्तो जनयुद्ध भइछाड्यो, प्रचण्डले नेतृत्व पनि गरिछाडे ।
प्रचण्ड रुन्छन् वेलावेलामा, कतिसम्म भने खुलामञ्च र सभाहरूमा पनि । पहिला आन्दोलनका वेला पनि रुन्थे । अहिले त्यही आन्दोलन सम्झेर भाषण गर्दागर्दै भावुक भइहाल्छन् । कतिले यसलाई नाटक गरेको भन्छन्, कतिले 'मुढी' । तर, यी हेडसरलाई आफ्ना चेला कञ्चन लाग्छन् । ढोंगरहित । 'उहाँ सफा मनको मानिस हो, अति संवेदनशील पनि । सबै कुरा खोल्ने केही नलुकाउने,' उनले भन्न भ्याए, 'म पनि त्यस्तै छु नि । बोल्दाबोल्दै थाहा पाउँदिनँ । बहकिन्छु । उहाँ पनि त्यस्तै हो ।' आफ्नो विद्यार्थीमा आफ्नै गुण सरेको दाबी गर्न खोजेका होलान् उनले ।
प्रचण्डलाई धेरैले १५ हजारका हत्यारा भन्छन् । आफ्ना चेलाको 'बुराई' सुन्दा यिनलाई नराम्रो लाग्दैन ? 'राजनीतिमा आलोचना सबैको हुन्छ । मारेको जोसुकैले होस्, त्यसको सान्दर्भिकता हुनुपर्छ । १५ हजारको योगदानले नेपाल नयाँ बन्यो भने त्यसको खासै ठूलो अर्थ हँुदैन । योगदान मूल्यहीन हुनुहँुदैन, त्यति हो,' फुलेको पातलो छोटो कपाल प्रचण्डकै शैलीमा माथि फर्काउँदै उनले भने ।
प्रचण्डका विषयमा राजकृष्णलाई याद आइरहने एउटै कुरा हो- आफूमाथिको सम्मान । 'मलाई निकै प्रेम गर्ने उहाँले,' त्यसको प्रमाण पनि दिए उनले । ०३५ सालको सेन्टअप आउनै लागेको थियो । कृषि विषय पढाउने शिक्षकले एक्कासि जागिर छाडे । शिक्षक त चाहियो । एकजना सरले पुष्पकमलको नाम लिनुभयो । उहाँ भर्खर बिएस्सी सिध्याउनुभएको थियो । एक दिन साँझको समय थियो । राजकृष्ण सुवेदी थरका स्कुलको गेटैनेरको घरमा डेरामा उनी बस्थे । 'गाउँलेसँग त्यति संगत हुँदैनथ्यो मेरो । पुष्प त राजनीतिमा लागेर निकै माथि पुगिसक्नुभएको रहेछ । मलाई थाहै थिएन,' डेराको बेफाइदा सुनाए । त्यहाँ उनी पुगे । पुष्पकमल घरमै थिए । पढाइदिन आग्रह गरे । उनी एकछिन् चुप लागे । पछि 'हुन्छ' भने ।
पुष्पकमलले स्कुलमा पढाउन सुरु गरे । सोह्र दिनजति पढाएपछि एक साँझ पुष्प राजकृष्णको घरमा आए । वेला उस्तै थियो साँझ । प्रचण्डलेे भने, 'सर म त राजनीतिमा लागेको मान्छे । मेरा विषयमा कुरा काटिनु कुनै ठूलो कुरा होइन । तपाईं त मेरो हेडसर । चोकमा बसेर तपाइंका विषयमा गाउँलेले तथानाम भनेको मलाई मन परेन ।'
'के भयो ?' राजकृष्णले सोधे,
'त्यो राजकृष्णले पुष्पकमललाई राजनीति पढाउन लगेको स्कुल ? भनेर कुरा काट्दा रहेछन् । मेरो कारणले तपाइर्ं बद्नाम हुनुहुँदैन । म आजबाट बिदा पाऊँ, बरू म शिक्षक खोज्छु ।' यति भनेर उनी हिँडे ।
'त्यही दिन मैले राजनीतिमा लागेका रहेछन् भन्ने थाहा पाएँ,' हेडसरले सुनाए, 'त्यति ठूलो पदमा पुगेर पनि मेरो मन राख्न हुन्छ भने । मेरो अपमान सहन नसकेर फेरि छोडिदिए । यति ठूलो गुरुदक्षिणा मलाई कुनै विद्यार्थीले दिएको छैन ।'
प्रचण्ड यिनका विद्यार्थी मात्र होइनन् । यिनका मातहतमा शिक्षक भएर पनि काम गरे, आइएस्सी पास गरेपछि । त्यो पनि यिनकै आग्रहमा कति गतिला शिक्षक थिए ? 'स्पष्ट वक्ता थिए । समयको त पहिलेदेखि नै सम्मान गर्ने । विद्यार्थीले निकै रुचाउँथे ।' यी हेडसर मान्छन्, 'पुष्पकमल नभएको भए माओवादी उहिल्यै टुक्रिन्थ्यो । गुट-उपगुट सबैलाई मिलाएका छन् ।'
०४८ सालतिर खानीखोलामा सँगै खाजा खाँदा यी हेडसरलाई प्रचण्डले सोधेका थिए, 'सर ! के म राजनीति गर्न सक्छु ?' उनको स्वभावलाई हेरेर राजकृष्णले भने, 'तिम्रो स्वभावले त दिँदैन । कूटिलता नहुने मानिस के राजनीति गर्ला ?' त्यसको ६ वर्ष नबित्दै उनी शक्तिशाली विद्रोही पार्टीको नेता भए भने १६ वर्षपछि गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री ।
'राजनीतिको विशेषता कूटिलता हो, त्यो उनमा छैन । र, पनि नेतृत्व गरिरहेका छन् । यसमा म दंग पर्छु । हुन त म राजनीति गरेको मानिस होइन । त्यसैले उनी असाधारण प्रतिभा हुन्, मेरो नजरमा,' उनले दंग पर्दै भने ।
प्रचण्ड वेला-वेलामा बोल्छन् अनि फिर्ता लिन्छन् । कतिले उनलाई 'हावा' भन्छन् । तर, हेडसर त्यो मान्न तयार छैनन् । 'राजनीतिमा हुने कूटिलतालाई मात दिन आफू पनि त्यस्तै बन्ने प्रयास हो तर, सक्दैनन् । स्वभाव त कसैलाई धोका दिन नसक्ने छ नि । कार्यशैली मुख्य कुरा हो । कति नेता छन्, जसले सत्य बोल्छन् ? उसले कुनै कुरा लुकाउन सक्ने र कसैलाई धोका दिन सक्ने व्यक्ति होइनन्,' उनले थपे ।
हेडसरलाई अझै विश्वास रहेछ, 'अहिलेको राजनीतिक गतिरोधलाई प्रचण्डले मात्र अन्त्य गर्न सक्छन् ।'
'उनी असाधारण प्रतिभा हुन् । गिरिजा पनि होइन, झलनाथ पनि होइन, अरू कोही होइन । नेपालको राजनीतिलाई सही दिशामा लाने एकमात्र पुष्पकमल हुन् । बरू चाँडो गरे हुन्थ्यो,' उनी औंला ठड्याउँदै कड्किए ।
-(प्रमिला देवकोट)(source-nayapatrika)

No comments: