Pages

Oct 6, 2009

बुसलाई किन जुत्ता हानेँ मैले ?

बुसलाई जुत्ता प्रहार गरेपछि मलाई हिरोइजम र बहादुरीको मिथक बनाउने प्रयत्न गरियो । अमेरिकाविरोधी देश तथा मानिसका नजरमा म युगपुरुषजस्तो ठहरिन पुगेछु । सम्मानहरूको ओइरो लागेका थियो ममाथि । थुप्रै युवती मसँग विवाह गर्न चाहन्थे ।
१४ डिसेम्बर, २००८ । प्रधानमन्त्री निवास, बग्दादमा पत्रकार सम्मेलन भइरहेको थियो । सुपि्रम अमेरिकाको सर्वशक्तिमान राष्ट्रपति जर्ज डब्लु बुस भाषण दिँदै थियो । 'अमेरिका प्रजातन्त्रप्रति कटिवद्ध छ...अमेरिका मानवअधिकारप्रति प्रतिवद्ध छ.... अमेरिका सारा संसारमा शान्ति चाहन्छ...अमेरिका ह्यान गरिरहेछ.... अमेरिका त्यान गरिरहेछ.... इराकी-अमेरिकी भाइ भाइ...' बुस मग्नमस्त बकवास गरिरहेको थियो । हामी पत्रकार सुनिरहेका थियौँ, झेलिरहेका थियौँ, बुसलाई सहन गरिरहेका थियौँ । अचानक मलाई के भयो, भयो ! बुसका प्रत्येक शब्द हथौडाझैं बजि्रन थाल्यो मेरो मथिंगलमा । मलाई भाउन्न हुन थाल्यो । मेरा आँखावरिपरि विधवा र टुहुराका अनुहारहरू झल्झली आउन थाले । भूत चढेजस्तो, म विक्षिप्त भएँ । मैले जुत्ता खोलेँ र 'दिस इज ए फेयरवेल किस पmम इराकी पिपुल, यु डग (इराकी जनताको बिदाई-चुम्बन लिएर जा, कुकुर !)' भनेर चिच्याउँदै बिजुलीवेगमा बुसलाई ताकेर हानेँ । तर, उसले कसरी-कसरी छल्न भ्यायो । त्यसपछि एक सेकेन्ड पनि खेर नफाल्दै मैले अर्काे जुत्ता हुर्‍याएँ बुसमाथि । 'विधवा, टुहुरा र मारिएका इराकीका तर्फबाट तँलाई उपहार हो यो,' हलै थर्कनेगरी चिच्याएँ म । यसपटक पनि बुसले छल्यो ।
त्यसपछि प्रधानमन्त्रीका अंगरक्षकहरूले मलाई नियन्त्रणमा लिए । र, मलाई इराकी सेनासमक्ष बुझाइयो ।

यो जुत्ता प्रकरणले मलाई 'हिरो' बनायो । तर, सत्य हिरो बन्नका लागि या बुसले भनेझैं 'चर्चामा आउन' का लागि मैले बुसमाथि जुत्ता प्रहार गरेको थिइनँ । म इराकमा यसै पनि लोकपि्रय थिएँ । अल बग्दादिया टिभीमा युद्धपीडित भोकानांगा इराकी जनताका दुःखपीडालाई वर्षांदेखि प्रस्तुत गरिरहेको थिएँ म । इराकी जनताको पर्याप्त माया र प्रशंसा प्राप्त गरेको थिएँ । त्यसैले, बुसलाई जुत्ता हानेर हिरो बन्नु या मिडियामा छाउनु मेरो उद्देश्य हुँदै होइन । एक होइन, दुई होइन, तीन होइन ।

मैले बुसलाई जुत्ता प्रहार गरेलगत्तै त्यहाँ उपस्थित पत्रकारहरूले माफी मागेछन् । बुसले इराकी जनताका तर्फबाट क्षमा मागेेकोमा धन्यवाद पनि दिएछ । उसले जुत्ता फ्याँक्ने जो कोहीले इराकी जनताको प्रतिनिधित्व नगर्ने पनि बताएछ । र, ठट्टा पनि गरेछ, 'मैले झन्डै दस नम्बरको जुत्ता खाएको !'
मलाई हिरोइजम र बहादुरीको मिथक बनाउने प्रयत्न गरियो । पत्तै नपाई, अमेरिकाविरोधी देश तथा मानिसका नजरमा म युगपुरुषजस्तो ठहरिन पुगेछु । सम्मानहरूको ओइरो लागेको थियो ममाथि । सिरियाले मलाई महापुरुष घोषणा गरेको थियो । भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजले मेरो परिवारलाई आफ्नो देशमा बसोबास गर्न निमन्त्रण गरेछन् । मेरा एक आफन्तले ह्युगो चाभेजप्रति आभार प्रकट गर्दै भनिदिएछन्, 'हामी इराकी हौँ र इराकमै बस्नेछौँ ।'
पाकिस्तानी पूर्वराष्ट्रपतीय उम्मेदवार मिया मुहिबुल्ला काका खेलका लागि मेरो जुत्ता फेंकाइ अन्तर्राष्ट्रिय समुदायको अमेरिकाप्रतिको असीम घृणाको प्रतीक बन्यो । मलेसियाका विदेशमन्त्री रइस यतिमले यसलाई 'अहिलेसम्मकै सबभन्दा सशक्त प्रत्याक्रमण' भएको घोषणा गरे । उत्तर कोरियाको एक अखबारले लेख्यो, 'बुसलाई जुत्ता नहाने कसलाई नहान्ने ! स्यावास मुन्तजार अल-जायदी !'
कोही मलाई भव्य मर्सिडिज उपहार दिन चाहन्थ्यो भने कोही आफ्नी छोरी । मेरो प्रशंसामा गीत/कविता लेखिए । युवतीहरू 'मजस्तो महान् व्यक्तित्व'सँग लगनगाँठो कस्न लालायित बने ।
तर, म कुनै हिरो होइन । म फेरि पनि भन्छु- म कुनै हिरो होइन । मैले जे गरेँ, विशुद्ध इराकी नागरिक भएर गरेँ । लाखौं निर्दाेष इराकीका पीडा र रक्तपातको प्रत्यक्षदर्शी हुँ म । भर्खर जुँगाको रेखी बसेेका नवयुवकदेखि भर्खर हिँड्न थालेका कलिला बालकसम्मका शव देखेको छु मैले, क्षतविक्षत शव । अमेरिकी फौजको आतंक र अत्याचार भोगेको र देखेको छु मैले ।

म कुनै हिरो होइन । तर, यौटा अडान र दृष्टिकोण भएको चेतनशील इराकी भन्ने पक्का हुँ । मेरो देश अपमानित हुँदा निःसन्देह अपमानबोधले कालो-नीलो हुन्छु म । मेरो प्यारो बग्दाद जल्दा मेरो आत्मा पनि ह्र्वाह्वार्ती जलेकेा थियो । मेरा निर्दाष दाजुभाइ र दिदीबहिनीका हत्या भइरहँदा खुनको आँसु रोएको छु मैले । हजारौं दुर्दान्त दृश्यहरू शिलालेखझैं खोपिएका छन् मेरो हृदयभरि । हो, ती दृश्यहरू मलाई विरोध र प्रतिरोधका लागि सधै उक्साइरहन्छन् । फलुजा, नजफ, हादिथ, सादर, बास्रा, दियाला, मोसुल, ताल अफार आदि सहरमा अमेरिकी फौजले गरेको कत्लेआमहरूले मलाई विद्रोहको बाटोमा हिँडाए, हिँडाइरहेका छन् । मेरो मातृभूमिका एक-एक इन्च जमिनलाई क्षतविक्षत पारिदिएको छ अमेरिकाले । अमेरिकी अत्याचारको डढेलोले खरानी बनेको मेरो देश घुमेको छु मैले । खुद आफ्ना आँखाले देखेको छु मेरा देशवासीका पीडा, खुद आफ्ना कानले सुनेको छु टुहुरा, विधवा र दुःखीका आर्तनाद । र, मलाई सदा पछ्याइरहेको हुन्छ, सदा तर्साइरहेको हुन्छ, एक प्रकारको लज्जाबोधले । किनभने, मैले मेरो देश र जनताका लागि केही पनि गर्न सकिनँ । यति कमजोर, यति शक्तिहीन र यति लाचार हुनुको पीडाले मलाई चिमोटिरहन्छ सधंै ।

जब म खण्डहर भएका घरका बचेखुचेका सरसामग्री निकाल्न मानिसलाई मद्दत गरिरहेको हुन्थेँ, जब म आफ्ना लुगामा कट्कटिएका रगत धोइरहेको हुन्थेँ, म दाह्रा किट्दै कसम खाइरहेको हुन्थेँ कि कुनै दिन म बदला लिनेछु, अवश्य लिनेछु ।
र, १४ डिसेम्बर, २००८ का दिन मैले बदला लिने मौका पाएँ । र, मैले यस मौकाको सदुपयोग गरेँ ।
निर्दाेष इराकीका एक-एक थोपा रगत, शोकाकूल आमाका एक-एक चित्कार, टुहुराका एक-एक रुवाइ, बलात्कृतका एक-एक पीडा... मैले यी सबका प्रति इमान्दार बन्ने प्रयत्न स्वरूप फुकालेँ जुत्ता र फ्याँकेँ बुसको टाउको ताकेर ।
मेरो आलोचना गर्नेलाई मैले सोध्ने गरेको छु- तपाईंलाई थाहा छ मैले फ्याँकेका जुत्ता कतिवटा ध्वस्त घरमा छिरेका छन् ? कतिपटक यिनले निर्दाषका लासमाथि कुल्चेर हिँडेका छन् । सायद, सारा मूल्यहरू विघटन भएको समयमा मेरा जुत्ता उपयुक्त जवाफ थिए ।
अपराधी जर्ज डब्लु बुसलाई जुत्ता प्रहार गरेर मैले उसका झूटहरूप्रति, मेरो देशमाथिको अमेरिकी आधिपत्यप्रति, उसले मच्चाएको ब्रम्हलुटप्रति र मेरा देशवासीका हत्याप्रति अस्वीकृति व्यक्त गरेको थिएँ । केही हासिल गर्नका लागि कदापि मैले त्यसो गरेको थिइनँ । म केवल आफ्नो देशलाई बचाउन चाहन्थेँ । बस् ।
gkcbinodbikram@gmail.com

No comments: