Pages

Nov 17, 2009

ल क्या फसाद मा परेछन तपस्वी

तपस्वी 'धर्म संकट'मा

आफ्नो 'चमत्कार'ले कसैगरी पनि बली रोक्ने बाराका तपस्वी रामबहादुर बम्जनको भनाईलाई बेवास्ता गर्दे गढीमाई मेला समितिले पशुबलीको सम्पूर्ण तयारी पूरा गरेपछि उनी 'धर्म संकट'मा परेका छन्।
'चमत्कारिक' व्यक्तित्वको रुपमा प्रचारित तपस्वीले बली रोक्न नसके उनीमाथि नै प्रश्न उठ्ने सम्भावना बढेको छ। अनुयायीद्वारा शरीरबाट आगो उत्पन्न हुने, छिनमै अलप हुनसक्ने, निराहार योगी तथा अन्य विभिन्न चमत्कारिक व्यक्तित्वको रुपमा प्रचारित तपस्वीलाई कसैगरी पनि बली रोक्नु पर्ने बाध्यता देखिएको छ।
बली रोक्ने आफ्नो अभियान एक्लै असंभव हुने भएपछि तीन साता अघि बम्जनले हलखोरियास्थित तपस्यास्थलमा धार्मिक सम्मेलन गरेर अन्य धर्मगुरुलाई समेत सहयोगका लागि आग्रह गरेका थिए।
ती तमाम आग्रहका बावजुद बली नरोकिने संकेत देखिएकाले उनी आफ्नो अन्तिम प्रयासस्वरुप मंसिर ५ गते गढिमाई मन्दिर जाने भएका छन्।
'उहाँ ५ गते कुनै पनि बेला गढीमाई मेलास्थलमा पुग्नु हुनेछ', मंगलबार बिहान तपस्वीले बोलेको भनाई उद्धृत गर्दे नमोबुद्ध तपोवन समितिका सदस्य राजु साह भन्छन् -'बली रोकेर मात्र उहाँको फिर्ती हुनेछ।'
बली रोक्न तपस्वीले के गर्दे हुनुहुन्छ भन्ने नबताएपनि परी आए 'दैवीशक्ति' प्रयोग गरेर भए पनि बली रोक्ने तपस्वीको दावी उनले सुनाए।
यसअघि गढीमाईका पूजारी, बाराका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारी समेतलाई तपस्यास्थलमै बोलाएर तपस्वीले बली रोक्न अनुरोध गरेका थिए।
आफ्नो कुरा सबैले मान्ने तपस्वीको सोचभन्दा फरक गढीमाईका पुजारी मंगल चौधरीले बली नरोकिने जवाफ दिएपछि तपस्वी र उनका अनुयायीले पटक-पटक पत्रकार सम्मेलन गरेर बली रोक्ने अभियान बढाएका छन्।
यस अभियान अर्न्तगत उनीहरुले हेटौडा , निजगढ, कलैया लगायतका ठाउमा पशुबलीविरुद्ध प्रदर्शन समेत गरे।
गढिमाई मेलामा हुने पशुबली रोक्न गरेको आग्रहलाई कृष्णप्रणामी, वैष्णव, ओमशान्ति लगायतलाई प्रभावित पारे पनि परम्परागत रुपमा बली दिँदै आएका सर्वसाधरणलाई प्रभाव नपार्दा बलीप्रथा नरोकिने निश्चित देखिएको छ। यसबाट साढे ४ वर्षदेखि निराहार तपस्यामा रहँदै आएका भनिएका तपस्वी पहिलो पटक अप्ठेरोमा परेका हुन्।
बाराको हलखोरियामा तपस्वीले बली रोक्न विभिन्न अभियान चलाइरहँदा ३० किलोमिटर दक्षिणमा रहेको गढिमाई मन्दिरमा भने बलीको सम्पूर्ण तयारी पूरा भइसकेको छ। मन्दिर प्राङ्गण नजिकै ३ विघा क्षेत्रफलमा राँगाको सामूहिक बली दिनका लागि वधस्थल निर्माण पूरा भइसकेको मेला समितिले जनाएको छ।
यस वधस्थलम एकैपटक १० हजारभन्दा बढी राँगाको बली दिन सकिने छ। बलीमा मार हार्नेले मेला समितिबाट अनुमति समेत लिन थालेका छन्। सयौँको संख्यामा रहने यस्ता व्यक्तिले आआफ्नो खुँडा तथा तरवारमा धार लगाइसकेका छन्।
नौ गते बिहान मुसा, सुंगुर, परेवा , बोका र राँगाको पंचबली दिएर बलीको विधिवत उद्‍घाटन हुने मन्दिरका मूल पुजारी मंगल चौधरीले बताए।
चौधरी विगतको तुलना यस पटक बढी संख्यामा बली चढ्ने दावी गर्छन्।
कसैगरी पनि बली रोक्ने तपस्वीको दावी र बली नरोकिने पूजारीको अडानले यस क्षेत्रमा द्वन्द्व चर्कन सक्नेतर्फ सर्वसाधारण चिन्तित हुन थालेका छन्। यस्तै स्थितिलाई ध्यानमा राखी सरकारले यस क्षेत्रको सुरक्षाको लागि १ हजार थप सुरक्षाकर्मी परिचालन गर्ने भएको छ।
बलीप्रथाविरुद्ध विगतको तुलना यस पटक प्रभावकारी कदम चालिएको छ', कलैयाका पत्रकार रमेश सुवेदी भन्छन् -' तर यो गढीमाई मेलामा हुने यस पटकको बली रोक्न पर्याप्त भने छैन।'
बलीका लागि यस भेगका अधिकांश सर्वसाधारणले बोका, राँगा, परेवा र हाँसको जोहो गरिसकेका छन्। बजारमा बोका र राँगाको मूल्य आकासिएको छ। उनले भने -' सीमावर्ती भारतीय सहरबाट समेत सयौँको संख्यामा राँगा र बोका भित्रिन थालेको छ।
गढीमाई मेलामा आगामी ९ गते राँगाको र त्यसको भोलिपल्ट बोकाको बली दिने कार्यक्रम रहेको छ।

No comments: