Pages

Nov 8, 2009

अन्तरिक्ष होटलमा सयर गर्न जाने कि ?


होटलका पाहुनाले दिनको १५ पटक सूर्योदयको दृश्य हेर्न पाउनेछन् र प्रत्येक ८० मिनेटमा पृथ्वीको परिक्रमा गर्न पाउनेछन्

अब यस पृथ्वीतलका पाँचतारे र सुपर डिलक्स होटलहरूले पुगेन । मानिसको महत्त्वाकांक्षा चुलिएर अन्तरिक्षमा होटल खोल्ने योजना तयार भएको छ । कालो धन बटुलेर दुनियाँका बैंकमा खर्बौं रुपैयाँ राख्नुभएको छ भने तपाईं नेपालीका लागि पनि यो होटलको बुकिङ खुल्ला छ । होटलका मालिकहरू यस परियोजनाका लागि पैसा कहाँबाट जुट्यो भन्नेसमेत बताउन चाहन्नन् । तर, तयारी त भई नै रहेको छ । आलोचकहरूले लगानी कति हो र कहिलेसम्म होटल पूरा भइसक्छ भन्ने प्रश्न तेस्र्याइरहँदा कम्पनीले भने अबका तीन वर्षमा, २०१२ मा ग्राहकको स्वागत गर्ने जनाएको छ ।
पृथ्वीतलभन्दा धेरै माथि अन्तरिक्षमा खर्बौं डलर लगानी गरेर होटल खोलिँदै छ । नवधनाढ्यहरू निकै खुसी छन् । विश्व तापमान वृद्धिका कारण सिंगै देश डुब्ने भयले ग्रस्त माल्दिभ्सको मन्त्रिमण्डलको बैठक समुद्रमुनि बसेको थियो । अब विश्व वातावरण कोषको बैठक अन्तरिक्ष होटलमा नहोला भन्न सकिन्न । अमेरिकाको नेतृत्वमा जी— ८ को बैठक अन्तरिक्ष होटलको कोयामा बसेर पृथ्वी बचाउने एजेन्डामा छलफल गरियो भने के आश्चर्य ?

स्पेनको बार्सिलोनाका द ग्यालेटिक सुट स्पेस रिसोर्टका स्थापत्यकलाविद् इन्जिनियरहरूले त्यस अन्तरिक्ष होटलमा तीन रात बास बस्न तीस लाख युरो (४४ लाख डलर अमेरिकी डलर) शुल्क लाग्ने जानकारी दिएका छन् । यस शुल्कमा उष्ण कटीबन्धीय (ट्रपिकल) द्वीपमा लिनुपर्ने आठ हप्ता लामो तालिमको शुल्क पनि समावेश गरिएको छ ।

होटलका पाहुनाहरूले एक दिनमा १५ पटक सूर्योदयको दृश्य हेर्न पाउनेछन् र प्रत्येक ८० मिनेटमा पृथ्वीको परिक्रमा गर्न पाउनेछन् । उनीहरूले भेल्क्रो सुट लगाउनुपर्नेछ । त्यस्तो सुट लगाएपछि उनीहरू बिस्तारै कोया कक्षमा हिँड्न पाउनेछन् र स्पाइडरम्यानजस्तै कोठाका भित्तामा टाँसिन सक्नेछन् ।

पहिले अन्तरिक्षयानका इन्जिनियर तथा हाल ग्यालेटिक सुट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जेबियर क्लारामन्टले होटल परियोजनाले आफ्नो कम्पनीलाई विशाल भविष्य रहेको यस शिशु उद्योगको अगि्रम स्थानमा राखेको बताए । उनले भविष्यमा अन्तरिक्ष-यात्रा सबैका लागि सामान्य हुने भविष्यवाणीसमेत गरे ।

उनले भने, 'आउँदो १५ वर्षभित्र तपाईंका छोराछोरीले एक हप्ता अन्तरिक्षमा मस्ती मार्नेछन् भन्ने कुरा अब सामान्य भइसक्यो ।'

भर्खरै जन्मेको एक अन्तरिक्ष उद्योगबाट अमेरिकाको न्यु-मेक्सिकोको स्पेसपोर्टमा निर्माणाधीन परियोजनाले आकार लिँदै छ । यो सुविधा सशुल्क ग्राहक र अन्तरिक्ष-प्रधान व्यापारिक ग्राहकका लागि निर्मित पहिलो सुविधा हो । यस होटलमा बि्रटिस टाइकुन रिचार्ड ब्रान्सनको भर्जिन ग्यालाक्टिक नामक अन्तरिक्ष पर्यटन कम्पनीले एकपटकका लागि दुई लाख डलरमा अन्तरिक्ष पर्यटक पठाउनेछ ।

२००७ मा स्थापित ग्यालाक्टिक सुट लिमिटेडले पृथ्वीको सतहदेखि चार सय ५० किलोमिटर माथि एक कोया यान पठाएर परियोजनाको सुरुवात गर्ने अपेक्षा राखेको छ । यस यानले प्रतिघन्टा ३० हजार किलोमिटरको यात्रा गर्नेछ । यस यानमा चार ग्राहक र दुईजना अन्तरिक्ष-यानचालक रहनेछन् ।

यानको कोयामा पुग्न साढे एक दिन लाग्नेछ । यात्रुलाई स्वागत गर्न कोही पनि नभएको पर्वतशिखर यात्राजस्तै भनेर क्लारामन्टले यात्रा प्रक्रियाको तुलना गरेका छन् ।

उनले भने, 'यात्रुहरू रकेटमा आएपछि उनीहरू तीन दिनका लागि रकेट र क्याप्सुल (कोया) मा रहनेछन् । यसबीच हामीले यात्रुमा आत्मविश्वास जगाउनेछौँ । तीन दिनपछि यात्रुबाहक रकेटमा फर्केर यात्रुहरू पृथ्वीतिर प्रस्थान गर्नेछन् ।' यस अन्तरिक्ष होटलमा यात्रा गर्नका लागि दुई सयजनाले अभिरुचि देखाएका छन् भने ४३ जनाले त स्थानसमेत सुरक्षित गरिसकेका छन् । उता भर्जिन ग्यालाक्टिकमा पनि तीन सयजनाले शुल्क बुझाइसकेका वा दस्तखत गरिसकेका छन् । तर, ग्यालाक्टिक सुटले भने क्यारेबियन द्वीपमा निर्माण गरिने अन्तरिक्ष बन्दरगाहबाट यात्रु ओसार्न रसियाली रकेटको प्रयोग गर्ने बताएको छ । आलोचकहरूले यो समयसीमा अव्यावहारिक रहेको र यस परियोजनामा लगानी गर्न पैसा कहाँबाट आयो भनी प्रश्न गरेका छन् । क्लारामन्टले अन्तरिक्षमा अभिरुचि राख्ने कुनै एकजना खर्बपतिले परियोजनालाई तीन बिलियन डलर दिएको बताएका छन् ।(source-nayapatrika)

No comments: