Pages

May 26, 2010

मैले बुझेको दासढुंगा

मनोज पण्डित


एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभागप्रमुख जीवराज आश्रतिको रहस्यमय जिप दुर्घटनामा आधारित फिल्म दासढुंगाका निर्देशक हुन् पण्डित । पण्डितले फिल्म निर्माणअघि झन्डै नौ महिना यो विषयमा अध्ययन, अनुसन्धान गरेको बताउँछन् । यही आधारमा उनले देखेको दासढुंगा ।चलचित्र 'दासढुंगा’ निर्माणका क्रममा अमित लामाले भनेका कुरा निकै घत लाग्यो मलाई । मदन भण्डारीका ड्राइभर र दासढुंगा-काण्डका सन्देहास्पद पात्र अमर लामाका छोरा हुन् अमित । खाडी मुलुक जानुभन्दा एक दिनअगाडि अमित मलाई भेट्न आएका थिए । र, एकसासमा माथिको आक्रोश पोखेका थिए ।

चितवनको दासढुंगा । १७ वर्ष अगाडिसम्म यो एउटा सामान्य ठाउँको नाम थियो । तर, ०५० जेठ ३ गते एउटा पजेरो नारायणी नदीमा खसेपछि यो ठाउँ एकाएक चर्चित बन्न पुग्यो देश-विदेशमा । पोखराको दीपेन्द्र सभागृहमा कास्की जिल्ला अधिवेशनको उद्घाटन सकेर र्फकंदै थिए- तत्कालीन नेकपा (एमाले) का महासचिव क. मदन भण्डारी र संगठन विभागप्रमुख जीवराज आश्रति । दासढुंगामा उहाँहरू चढेको बा अ च ८७९३ नम्बरको पजेरो नारायणी नदीमा खस्यो । यस 'दुर्घटना’ मा तत्कालीन नेपाली राजनीतिका सबभन्दा प्रभावशाली व्यक्तित्व मदन भण्डारीसहित जीवराज आश्रतिको इहलीला समाप्त भएको थियो ।

यस दुर्घटनालाई विशेष र शंकास्पद बनायो- ड्राइभर अमर लामाको सकुशल जीवित हुनुले । घटनाको पृष्ठभूमि र स्वरुपलाई अध्ययन गर्ने हो भने यो कुनैपनि हालतमा सामान्य लाग्दैन । उसो त यस दुर्घटनालाई बाटोमा हुने सामान्य दुर्घटनाका रुपमा लिनेहरु पनि नभएका होइनन् । उनीहरुको तर्क थियो- 'हरेक घटनालाई शंकाको दृष्टिकोणले हेरियो भने मामुली घटना पनि भयानक प्रतीत हुन सक्छ । दुर्घटना त जहाँ पनि जोसँग पनि हुन सक्छ । नेताहरु चढेको गाडी हुँदैमा र र ड्राइभर बाँच्दैमा यसलाई षड्यन्त्र भनेर किटान गर्न मिल्दैन । सडकमा दुर्घटनामा हुनु सामान्य कुरा हो ।' तर, दासढुंगा दुर्घटनाको यति हलुको विश्लेषण अलोकपि्रय भयो ।

दुर्घटनालाई केलाउँदा केही अनुत्तरित प्रश्न अहिले पनि प्राथमिक भएर आउँछन् । जस्तो,- नेताहरु मात्र दुर्घटनाको सिकार कसरी भए ? ड्राइभर दुर्घटनाबाट कसरी उम्किन सक्यो ?

- भण्डारी र आश्रतिका रगतमा प्रचुर मात्रामा सुँघाउने विषादी कसरी पर्न गयो ?

- गाडी जुन दिशामा बढीरहेको थियो, त्यसको विपरित साइडमा गएर खोलामा खस्नु अस्वाभाविक देखिन्छ । प्राविधिक रुपमा गाडी एकदम ठीकठाक छ । ड्राइभरले मदिरा सेवन गरेर गाडी चलाएको पनि छैन र उसको मानसिक अवस्था पनि सामान्य छ । भने, कसरी दुर्घटना हुन गयो ?

- भण्डारीको शरीर गाडीमा नभेटिएर ३२ कि.मि. तल गुन्जनगरमा भेटियो भने आश्रतिको गाडीमै । टाउको पछाडि चोट लागेको अवस्थामा आश्रतिको शव रहेको थियो । यी सब तथ्यले यो दुर्घटना नभएर षडयन्त्र भएको पुष्टि गर्दैनन् र ?

- गाडीको ढोका लक्ड अवस्थामा हुनु र साँचो ड्राइभरसँग भेटिनुले के जनाउँछ ?

यस्ता थुप्रै प्रश्न छन् जसले दासढुंगा दुर्घटनालाई साधारण दुर्घटना मात्र नभई षडयन्त्रमुलक दुर्घटनाकेा रुपमा वहसमा अगाडि बढाए । तर, नेपाली जनताका शंका आजका मितिसम्मपनि निवारण भएका छैनन् ।

दासढुंगा दुर्घटनाकोे १५ वर्ष पछि त्यसलाई एउटा चलचित्रको रुपमा अभिलेखिकरण गर्ने सोचअनुसार मैले दासढुंगा माथि खोज/अनुसन्ध्ाान सुरु गरेँ जसमा मलाई किरण पौड्यालले सहयोग गर्नुभयो ।

त्यसवेला प्रकाशित समाचारहरुबाट खोजको सुरुवात गरियो । र, त्यसपछि अनुसन्धान आयोगका रिपोर्टहरु खोज्ने काम भयो । तुलाधर आयोग र राणा आयोगका रिपोर्ट त सजिलै पाइयो तर, अनिल आयोग र ओली आयोगको रिपोर्ट भन्ने पाउन सकिएन । तुलाधर आयोगले दुर्घटनालाई निष्कर्षमा 'सुनियोजित षडयन्त्र' भनेको छ तर, तर कसले षडयन्त्र गर्‍यो भन्नेबारे आफ्नो क्षेत्र नपरेको कारण देखाउँदै मौन बसिदिएको छ । उता, राणा आयोगको रिपोर्टले भने कसैले पनि षडयन्त्र गरेको कुनै आधार नदेखिएको र नभेटिएकोले यो एउटा दुर्घटना मात्र हो भनेर निष्कर्ष दिएको छ । त्यस्तै, ओली आयोगले यसलाई षडयन्त्र भनेकेा छ भने अनिल आयोगले साधारण दुर्घटना मात्र भनेको छ । राणा र अनिल आयोग सरकारी तवरबाट स्थापित आयोग थिए भने तुलाधर आयोग नागरिक समाजबाट र ओली आयोग एमालेका तर्फबाट ।

अनिल आयोग दुर्घटनापछि तत्कालै गठन गरिएको थियो र एक महिनापछि नै यसले आफ्नो जाँचबुझ प्रतिवेदन बुझाएको थियो । तर, त्यसलाई एमालेले स्वीकार गरेन र त्यसविरुद्ध धेरै जनतालाई सडकमा उतार्‍यो । तत्कालिन सरकारको दमनमा २९ जनाले सहादत प्राप्त गरेका थिए । त्यो आन्दोलन पछि गएर सम्झौतामा परिणत भएको थियो र सर्वोच्च अदालतका न्यायाधिश त्रिलोकप्रताप राणाको अध्यक्षतामा फेरि एउटा सर्वपक्षीय छानविन आयोग बनाउने निर्णय भयो । २९ जनाको ज्यान गएपछि टुंगिएको आन्दोलन मदन भण्डारी र जीवराज आश्रतिको मृत्युको पूर्ण छानविन हुनुपर्छ भन्नका लागि थियो । तर, आज आएर एउटा प्रश्न उब्जन्छ- दासढुंगामा केवल दुई जना नेताको मात्र अवसान भएको थियो र ? किन हामी ती २९ जना नेपालीको मृत्युको मुल्य सोध्दैनौ ? दास ढुंगामा २ जना हैन ३१ जना नेपालीले ज्यान गुमाएका हुन् । यति धेरै जनताको मृत्युको मुल्यांकन हुन्छ कि हुँदैन ? २०६२/६३ को जनआन्दोलनमा भन्दा बढी मानिसका रगतमा होली खेल्ने शासक र राजनीतिज्ञ अझै राजनीतिको शीर्ष दौडमा छन् । र, हामी केवल ताली बजाइरहेका छौं ।

दासढुंगाको विषयमा यी चार रिपोर्टपछि एउटा नामले उक्त समयमा तहल्का मच्चाएको पाइयो- टि.एन. प्रधान । टि.एन. प्रधानका नाममा प्रकाशित लेखले दासढुंगा-काण्ड पछाडि कस-कसका र के के भुमिका रहेका छन् भन्ने बारे क्रमबद्ध 'खुलासा' गरेर तहल्का मच्चाउन थाले । त्यसपछि टि.एन. प्रधानको पृष्ठभूमिको विषयमा टिका-टिप्पणी हुन थाले । टि.एन. प्रधान भन्ने कोही मानिस छैन, यो एउटा छद्म नाम मात्र हो भन्ने रहस्य खुल्न थाल्यो र कसैले सि.पि. मैनालीलाई यसको मास्टर माइण्ड भनेर चर्चा गर्न थाले । तर, पछि उक्त नाम छापाबाट एक्कासी हरायो । प्रधानका लेखमा एमाले पार्टी भित्रैबाट षडयन्त्र भएको हुन सक्ने र त्यसमा भारतीय स्वार्थ रहेको भन्ने विचारलाई तथ्यसहित प्रस्तुत गरिएको थियो । र, उनका लेखले उक्त समयमा ठूलो हंगामा मचाएको थियो ।

दासढुंगाको अध्ययन गर्ने सिलसिलामा टि.एन. प्रधानलाई छुटाउन सकिँदैनथ्यो । त्यसैले, उनलाई खोज्यौँ । उनी हाम्रो सम्पर्कमा आए । केही दिन उनीसँग संगत गर्ने मौका पाइयो । टि एन प्रधान हाल दयनीय अवस्थामा छन् तर उनको वौद्धिक क्षमता भने प्रसंशायोग्य छ । एमालेका शीर्षस्थ नेताहरुसँगको लामो संगतका कारण उनी नेपाली राजनीतिको सटिक विश्लेषण गर्न सक्दा रहेछन् । उनका कुरा सुन्दा नेपालको राजनीतिमा भारत र अमेरिकाको हस्तक्षेप कुन हदसम्म रहेको छ भन्ने यथेष्ट जानकारी पाउन सकिन्छ । प्रधानको निष्कर्ष थियो- दासढुंगा विदेशीहरुको स्वार्थमा स्वदेशीहरुले घटाएको घटना हो । उनको निष्कर्षलाई धेरै नेपालीले आत्मसात गरेको अवस्था छ तर यसका पछाडि को-को खेलाडी थिए भन्ने विषयमा आजपनि पुरै अन्धकार छ । त्यसैले दासढंुगा नेपाली जनताका लागि सिजोफ्रेनियाजस्तै भएको छ, एउटा यस्तो मानसिक रोग जसको पूर्ण निक्र्योल गर्न असंभव छ ।

हामीले अनुसन्धान क्रममा दासढुंगाको पछाडि दरवारको एउटा शक्तिको हात रहेको भनेर विश्वसनीय विश्लेषण गर्ने पक्ष पनि पायौँ । अझ रोमाञ्चक कुरा के पत्ता लगाएका थियौँ भने नेपाली सेनाको पनि दासढुंगामा भूमिका रहेको थियो । र, धेरै नेता नेपाली सेनाका लागि जासुसी गर्थे ।

तत्कालिन अमेरिकी राजदूत मदन भण्डारीको व्यक्तित्वबाट एकदम त्रसित भएका घटना र उनका उद्घोष पनि हामीले सुन्न पायौँ । त्यस्तै, रुसी महासंघ विघटन पछिका केजिबीका जासुसहरु पनि दासढुंगामा संलग्न हुन सक्ने भन्ने दृष्टिकोण पनि पढ्न पाइयो । हामीले अनुभूत गर्‍यौँ- नेपाल अन्तर्राष्ट्रिय मानचित्रमा एउटा महत्वपूर्ण ट्रान्जिट प्वाइन्ट रहेछ र यसप्रति केहीको ध्यानाकर्षण भएको रहेछ ।

दासढुंगा भन्ने वित्तिकै सबभन्दा महत्वपूर्ण पात्रका रुपमा ड्राइभर अमर लामा देखा पर्छन् । हामीले अमर लामालाई विशेष महत्वका साथ अध्ययनको विषय बनायौँ । उनको पारिवारिक पृष्ठभूमि एकदम सामान्य पाइयो । ८ कक्षासम्म मात्र पढेका उनी मदन भण्डारीको विश्वास-पात्र कसरी हुनपुगे ? उनका व्यक्तित्वका धेरै पक्ष बुझ्दै जाँदा उनी एकदम रहस्यमयी र क्षमतावान व्यक्ति भएको निष्कर्षमा पुगियो ।

जेठ ३को दासढुंगा दुर्घटनापछि अमर लामाले धेरै चोटी कुरा फेरेका छन् । हरेक पटक उनी फरक फरक वक्तव्य राख्थे । घटनालगत्तै दिएको वयान र पछिका वयानमा तथ्यहरु वाझिएका छन् । अझ, दासढुंगा पछि उनका परिवर्तित व्यवहारले अमर लामालाई शंकाको घेरामा उम्किनै नसक्ने गरी पारेको पाइन्छ ।

पछि नेपाली कांग्रेसले उनलाई राजनीतिक संरक्षण दियो । उनी एकपल्ट चुनावका उमेद्वार समेत भएको इतिहास छ । वेलावेलामा तनावमा आएर बोल्ने केही शब्दले उसलाई सधै व्यावहारिक अप्ठेरोमा पारिरहेको थियो भने उनका नजिकका केही व्यक्तिका भनाइअनुसार उनी पछिल्ला चरणमा नेपाल छोडेर विदेश जान चाहन्थे । तर, जान सकिरहेका थिएनन् ।

०६०, भदौ ४ गते अमर लामा आफ्नै पत्रिकाको कार्यालयबाट अपहरित भई कीर्तिपुरमा लगी मारिए । व्यस्त सडकमा उनलाई दौडाइ दौडाइ मारिएको र अपहरणकारी बीचबजारबाट गायव भएको भन्ने यथार्थबाट अमर लामाकेा हत्या विशेष थियो भन्ने पुष्टि हुन्छ । कीर्तिपुर घटनाले दासढुंगालाई अझ बढी षड्यन्त्रमुलक घटनाको परिधिभित्र समेटिदियो । दासढुंगालाई बुझ्न कीर्तिपुरलाई पनि अध्ययन गरिनुपर्छ तर चलचित्र निर्माणको सिलसिलामा हामीसँग एक दिन एक यस्तो व्यक्तिसँग जम्काभेट भयो जोसँग मेरो तथ्यगत विवाद हुँदा उसको रहस्यमयी परिचय खुल्न गयो । अमर लामालाई अपहरण र हत्या गर्ने व्यक्ति उही रहेछ । ऊ अहिले हामी कसैको पनि सम्पर्कमा छैन र उसँग संलग्न अरु दुई पात्र पनि वेपत्ता छन् ।

यस्ता अनेकौ विशेष घटनासँग गुज्रदै हामीले दासढुंगा चलचित्र तयार गर्‍यौँ र चलचित्र विधालाई मर्यादित राख्दै पूर्वाग्रही नबनी तथ्यलाई सृजनशिल ढंगले प्रस्तुत गर्‍यौँ । तर, एउटा प्रश्न भने हामीले चलचित्र मार्फत सबैलाई राखेका छौँ - नेकपा (एमाले) दासढुंगा विषयमा उत्तरदायी र गम्भिर किन भएन ?

मदन भण्डारी जस्ता अद्भूत प्रतिभाशाली नेताको असमायिक निधनले देशले ठूलो क्षति ब्यहोरेको छ भन्ने हाम्रो अध्ययन/अनुसन्धानको निष्कर्ष छ । दासढुंगाको विषयमा विशेषज्ञहरु सम्मिलित एउटा छानविन आयोग गठन गरेर राजनीतिक पूर्वाग्रह र दवावविना काम गर्न दिइयो भने हामी चलचित्र दासढु्गा निर्माणका क्रममा बटुलेका जानकारी तथा तथ्य (जुन चलचित्रमा राख्न सम्भव थिएन) उपलब्ध गराएर सहयोग गर्न तत्पर छौं ।

निर्देशक, चलचित्र दासढुंगा
bp.manoj@gmail.co

No comments: