Oct 8, 2009
अमिलो फर्काइ
फुटबलबाटै भविष्य खोज्न साढे तीन महिनाअघि इङ्ल्यान्ड पुगेका राष्ट्रिय टोलीका स्ट्राइकर अनिल गुरुङ अन्ततः घरै फर्के, अमिलो मन लिएर। त्यहाँको पाँचौ डिभिजन क्लब वकिङमा उनले ट्रायल दिए र औधि रुचाइए पनि। तर 'वर्क परमिट' नहुँदा युरोपमा फुटबल खेल्ने सपना चकनाचुर भयो। पछि त्यही क्लबले रिजर्भ टिमका लागि बोलाउँदा पनि कागजी प्रक्रिया पुर्याउन सकेनन्, निराशा झन् थपियो। रिजर्भ टिमका लागि खेल्दा आवश्यक 'नो अब्जेक्सन लेटर' बनाइदिने सदासयतासमेत अखिल नेपाल फुटबल संघ (एन्फा) ले राखेन, त्यसले दुःख अझै पेचिलो बन्यो। यद्यपि त्यहाँको बसाइ र प्रशिक्षणको अनुभवले उनलाई निक्कै पाको बनाएको छ। एन्फाले एउटा फ्याक्स पठाइदिएको भए आफ्नो काम बन्ने उनलाई अहिले पनि लागेको छ। फुटबलमा 'स्किल' भन्दा पनि 'फिटनेस' महत्वपूर्ण भन्ने उनले त्यहीं पुगेर बुझे। वकिङमा सुरुवाती दुई हप्ता बिनाबल गरेको फिटनेस ट्रेनिङपछि उनले त्यसको महत्व बुझेका हुन्। पोखरामा सामान्य परिवारमा जन्मिएर फुटबलकै कारण इङ्ल्यान्डसम्मको यात्रा तय गर्नु उनका लागि सपना साकार भएसरह हो। तर मुख्य लक्ष्य पूरा नहुँदा दुःख लाग्नु स्वभाविक हो। इङ्ल्यान्डमा संगालेको अनुभव अब स्वेदशी फुटबलमा उपयोग गर्ने चेस्टामा छन् उनी। नजिकिँदो साफ च्याम्पियनसिप र ११औं दक्षिण एसियाली खेलकुद (साग) मा आफ्नो अनुभव काम आउने विश्वास उनले पालेका छन्। इङ्ल्यान्डको बसाइ र अनुभवका बारेमा अनिलले नागरिकका प्रकाश तिमल्सिनासँग गरेको कुराकानी उनकै शब्दमा : इङ्ल्यान्ड जानु अघिदेखि नै म एकदम नर्भस थिएँ। वकिङमा कुरा गर्न म बेलायतमा बसोबास गर्दै आउनुभएका सहारा युकेका दाइहरूसँग क्लब पुगे। क्लबका प्रशिक्षक ग्रेहाम बेकरले मलाई देख्दा फुटबल खेलाडी भन्ने विश्वास नै गरेनन्। होचो कदका कारण उनले विश्वास नगरेको मलाई लाग्यो। मैले बायोडाटा देखाए र नेपालको राष्ट्रिय खेलाडी भएको जानकारी दिए। त्यति गर्दा पनि उनले विश्वास नगरेजस्तो लाग्यो। नेपालका विभिन्न वेबसाइड हेरेपछि बल्ल ट्रायल लिन तयार भए र भोलिपल्टदेखि आउन भने। जब म ट्रयालको लागि पुगें, मैदान देखेरै छक्क परे। एकछिन मैदानमा लडिबुडी गरें, लाग्यो हाम्रो देशमा पनि यस्तै भए कति राम्रो हुन्थ्यो! हाम्रो लागि त्यहाँको मैदान नै सपनाको संसारजस्तो। प्रशिक्षणमा सुरुवाती सात दिन मलाई एकदम गाह्रो भयो। घर फर्कुफर्कु हुन्थ्यो। पछि सजिलै लाग्न थाल्यो। त्यहाँ फिटनेसलाई बढि महत्व दिइने रहेछ। खेल सामग्री पनि त्यस्तै। हप्तामा तीन दिन १० देखि ४ बजेसम्म ६ घन्टा प्रशिक्षण हुने। सुरुमा प्रशिक्षणपछि लन्च ब्रेक भयो, मैले सोचे आजको अभ्यास सकियो, तर पछि साथीहरू सबै मैदान छिरेपछि म छक्क परें, अभ्यास त बाँकी नै रहेछ। हाम्रो राष्ट्रिय टोली त्यहाँको पाँचौं डिभिजनको क्लबभन्दा पनि पछि भएको मैले अनुभव गरें। प्रशिक्षणमा मेहनत र फिटनेस स्तर देखेपछि प्रशिक्षकले मलाई रुचाए। मैत्रीपूर्ण खेलको एक साताअघिमात्र मैले 'विथबल' अभ्यास गर्ने मौका पाएँ। पछि म टोलीमा खेल्न पाउने भएँ। मैत्रीपूर्ण खेलका लागि रंगशाला पुग्दा सबै खेलाडी सुटमा थिए, म मात्रै ट्रयाकमा। त्यो हाम्रो अवे खेल थियो। मलाई सुट लाउनुपर्ने थाहै थिएन, लाजै लाग्यो। पछि अरु खेलमा म पनि सुटमा जान थालें। खेलाडीले आफ्नो बूट र प्याडबाहेक केही बोक्नु नपर्ने, कस्तो व्यवस्थित! केही अभ्यास म्याच पनि खेलें, राम्रै भएको थियो। त्यहाँ रहेका थु्रपै नेपाली मेरो खेल हेर्न आउँदा मलाई आनन्द लाग्थ्यो। जब क्लबमा नाम दर्ता गर्ने कुरा आयो, वर्क परमिट चाहिने रहेछ। तर, म टुरिस्ट भीसामा गएको क्लबबाट खेल्न नपाउने भएँ। मेरो लक्ष्यमा धक्का लाग्यो। क्लबमा दर्ता नभएपछि म जान छोडें।पछि क्लबका प्रशिक्षकले मलाई रिजर्भ टोलीका लागि बोलाए। रिजर्भ टोलीमा खेल्न पनि राष्ट्रिय टोलीमा खेलेको प्रमाण र 'नो अब्जेक्सन लेटर' चाहिने रहेछ। क्लबले १५ दिनभित्र ल्याउन भन्यो, मैले हुन्छ भनें। एन्फाबाट नो अब्जेक्सन लेटर पठाइदिन अनुरोध गरें, तर किन हो मैले त्यो चिठी पाइन्। प्रशिक्षकले मलाई सबै कागज मिलाएर पछि आउँ, राख्छु भनेका छन्, हेरुँ अब के हुन्छ। तर म अझै आशावादी छु। सुरुमा चेल्सीमा ट्रायल दिने चर्चा थियो। भूपेन्द्र गुरुङ (दाइ) को चेल्सीमा राम्रो सम्बन्ध भएको आधारमा ट्रयाल दिन पाउँछ भन्ने दाइहरूको विश्वास रहेछ। तर त्यो त्यति सजिलो काम रहेनछ। चेल्सीले कम्युनिटी सिल्ड जितेको दिन खाना खाँदै गरेका बेला चर्चित स्ट्राइकर डिडिएर ड्रोग्बाले भूपेन्द्र दाइलाई फोन गर्दा म त छक्कै परें। भूपेन्द्र दाइले ड्रोग्बासँग मेरोबारे कुरा गर्दा उनले राम्रो रेस्पोन्स गरे, जसले मलाई झन् उत्साहित बनायो। यसले भूपेन्द्र दाइको चेल्सीसँगको सम्बन्ध प्रगाढ भएको बुझ्न समय लागेन। उहाँले मेरो बारेमा चेल्सीमा कुरा गर्दा क्लबले पहिला बेलायतकै कुनै सानो क्लबाट खेलेर आफूलाई प्रमाणित गरेपछि ट्रायलका लागि बोलाउने आश्वासन पाउनुभएको रहेछ। अहिले चाहिँ म खासमा वकिङका लागि नै गएको रहेछु।बेलायतमा बस्दै आउनुभएका नविन गुरुङ, मच्छिन्द्र गुरुङ, दीलिप गुरुङ र भूपेन्द्र दाइको सहयोग विषेश थियो। पैसा उठाएर उहाँले मेरो लागि बिजनेस भीसा लिने प्रयास पनि गर्नुभयो, त्यो प्रक्रिया लामो भएकोले त्यतापट्टि लागेनौं। दुवै प्रक्रिया असफल भएपछि नेपाल फर्कनुबाहेक मसँग विकल्प थिएन। तीन सातादेखि म फुर्सदमा थिएँ। यहाँबाट फर्कन मलाई बारम्बार फोन गरियो र फर्किएँ। तर यहाँ त फुटबलको केही गतिविधि नै छैन। अब त साफ च्याम्पियनसिप र साग खेल्ने इच्छा छ। मैले चाहेर मात्र त केही हुन्न, तर मेरो अनुभव केही काम आउँछ भन्ने लाग्छ। युरोपमा खेल्ने इच्छा पूरा भएको अवस्थामा पनि मेरा लागि देशभन्दा ठूलो केही छैन। म देशका लागि खेल्न चाहन्छु। लामो समयदेखि अन्तर्राष्ट्रिय स्तरमा उपाधि जित्न नसकेको मेरो मातृभूमिलाई एकपटक दक्षिण एसियाली स्तरमा भए पनि उपाधि जिताएर नेपाली खेलप्रेमीलाई गौरवान्वित पार्न योगदान गर्न चाहन्छु।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment