Pages

Sep 22, 2009

रणवीर सेनाका प्रमुख नेपाली विन लादेन !

रणवीर सेनाका प्रमुख नेपाली विन लादेन !
७ असोज, काठमाडौं । हिन्दू राज्य र राजतन्त्रका पक्षमा हिंसात्मक गतिविधि गर्दै आएको भूमिगत संगठन रणवीर सेनालाई नेपालमा हिन्दूवादी अलकायदा बनाउने योजना भएको रहस्य खुलेको छ । रणवीर सेनाकै प्रमुखले आफ्नो योजनामा भारतका प्रभावशाली हिन्दूवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ र शिव सेनाको सहयोग रहेको दावी गरेका छन् ।
तराई र राजधानीमा समेत शृंखलाबद्ध बम विस्फोटको आरोपमा पक्राउ परेका रणवीर सेनाका प्रमुख विनोद पाण्डेले नै भारतीय अतिहिन्दूवादी संगठनको सहयोगमा नेपालमा सक्रिय भएको बयान दिएका छन् । डेढ वर्षदेखि प्रहरीको हिटलिस्टमा रहेका पाण्डे विराटनगरमा बसेर निर्माण व्यवसाय गर्दैगर्दा नाटकीय रूपमा दुई साताअघि विराटनगरबाटै पक्राउ परेका हुन् । हिरासतमा रहेका पाण्डेले भारतको प्रभावशाली हिन्दूवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र शिव सेनासँगको सम्बन्धबारे प्रहरीबयानमा स्विकारेका छन् ।
मोरङ प्रहरीको हिरासतमा रहेका पाण्डेले आफू कट्टरवादी मुस्लिम संगठन अलकायदाको मोडल अनुसारको कट्टर हिन्दूवादी संगठनको निर्माणमा जुटेको बताएका छन् । प्रहरीस्रोतले भन्यो- उनले आफ्नो आदर्श तालिवान भएको बताएका छन् । जसरी तालिवानका समर्थकहरू मुस्लिम अस्तित्वका लागि मर्न र मार्न तयार हुन्छन्, त्यसैगरी नेपालमा पनि त्यस्तै हिन्दूवादी कट्टर समूहको निर्माणमा आफू सक्रिय रहेको दाबी पाण्डेले गरेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाबाट सरुवा भई जिप्रका मोरङ पुगेका एसपी देवेन्द्र सुवेदीको नेतृत्वमा रहेको स्पेसल टास्कफोर्सले उनलाई २१ भदौमा विराटनगरबाट पक्राउ गरेको थियो । पाण्डे हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा छन् । उनीमाथि हातहतियार तथा खरखजानाको अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पूर्वक्षेत्रीय प्रहरी कार्यालयका डिआइजी भीष्म प्रसाईंले अनुसन्धानका क्रममा पाण्डेको विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय हिन्दूवादी संगठनसँग सम्बन्ध रहेको पुष्टि भएको बताए । उनले नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘शिव सेना र आरएसएससँगको सम्बन्धका बारेमा उनले स्वीकार गरेका छन्, अन्यका बारेमा अनुसन्धान जारी छ ।’
तर, रणवीर सेनाका नाममा विस्फोट हुँदा प्रहरीले बिहारमा सक्रिय रणवीर सेनामाथि आशंका गर्ने गरेको थियो । भारतको बिहारमा सक्रिय रहेको रणवीर सेनासँग उनको संगठनको नाम मिले पनि यी दुवै संगठनबीचको सम्बन्ध भने खुलेको छैन । बिहारको रणवीर सेना स्थानीय जमिनदारहरूको संगठन हो, जसको हिन्दू अतिवादी आरएसएस, भाजपा र शिव सेनासँग सम्बन्ध छैन ।
प्रहरीस्रोतका अनुसार पाण्डेले संघीयतामा जाँदा देश टुक्रा-टुक्रा हुने भएकाले संघीयता र धर्मनिरपेक्षताको विरोधमा संगठन निर्माण गरेको बताएका छन् । उनले प्रहरीसँग आफू सिद्धान्तको लडाइँमा उत्रिए पनि पहिचान बनाउन विध्वंसात्मक गतिविधि गरेको बताएका छन् ।
रणवीर सेनाले राजतन्त्रको वकालत गरे पनि सो संगठनको सम्बन्ध पूर्वदरबारियासँग भए-नभएको स्पष्ट भएको छैन । प्रहरीले पाण्डेसँग रणवीर सेना र दरबारियाहरूको सम्बन्धका बारेमा जिज्ञासा राख्दा उनले भनेका छन्, ‘राजाको प्रतिमूर्ति नभए सामान्य कर्म पूरा नहुने हिन्दू संस्कार छ, यो ठूलै क्रान्तिको कुरा पनि हो ।’
प्रहरीस्रोतले भन्यो, ‘उनले स्पष्ट रूपमा दरबारियाहरूसँगको सम्बन्धका बारेमा त खुलाएनन्, तर उनको संकेत दरबारियाहरूको पनि समर्थन र सहयोग छ भन्ने नै देखिन्छ ।’ हिन्दूवादी कट्टर भारतीय संगठनका साथै नेपालमा कार्यरत हिन्दूवादी संगठनहरूसँग समेत भाइचारा सम्बन्ध रहेको उनले स्वीकार गरेका छन् ।
भारतको मद्रासबाट सिभिल इन्जिनियरिङ गरेका पाण्डे भगीरथ सिंह, बज्र सिंह, चक्रधर सिंह, रघुवीर सिंह र रघुवीरप्रताप सिंहजस्ता उपनाम राखेर विराटनगरमा सक्रिय थिए । उनले विराटनगर-४ मा एउटा घर भाडामा लिएर संगठनको हेडक्वार्टर बनाएका थिए । त्यही घरमा उनले बम बनाउने ल्याबसमेत खोलेका थिए । भारतीय सीमाबाट विस्फोटक पदार्थ ल्याएर आफैँ बम बनाउने गरेको उनले स्वीकार गरेका छन् ।
प्रहरी उनको खोजीमा सक्रिय रहे पनि उनी खुला अवस्थामै सिभिल इन्जिनियरका रूपमा दोलखा कन्स्ट्रक्सनमा काम गरिरहेका थिए । पक्राउ परेको समय उनी दोलखा कन्स्ट्रक्सनले जिम्मा लिएको सूर्य नेपालको हाउजिङमै कार्यरत थिए ।
सप्तरीको राजविराज नगरपालिका- १ निवासी ४१ वर्षीय पाण्डेको परिवार राजविराजमै छ । विराटनगरमा उनी एक्लै बस्दै आएका थिए ।
पक्राउ परेकै दिन प्रहरीले उनको डेरामा छापा मारी ठूलो परिमाणको विस्फोटक पदार्थ बरामद गरेको थियो । उनी पक्राउ पर्दा उनका साथबाट सिक्सर रिभल्बर र त्यसको गोली पाँचवटा, पाइप बम पाँचवटा, सुतली बम दुईवटा, १० केजी बारुदलगायतका विभिन्न विस्फोटक पदार्थ बनाउने कच्चा पदार्थ प्रहरीले बरामद गरेको थियो । प्रहरीले २५ भदौमा उनको घरमा खोजतलास गर्दा बालुवाको थुप्रोमा लुकाइराखेको अवस्थामा सात थान कटुवा पेस्तोल र पाइप बम बरामद गरेको थियो ।
छापा मार्ने क्रममा उनको डेरामा बम बनाउने ल्याब नै फेलापरेपछि प्रहरी नै चकित भएको थियो । अनुसन्धानका क्रममा पाण्डेले आफू आरडिएक्ससम्मको हतियार बनाउन सक्षम रहेको र आफ्नो संगठनले जे-जति विस्फोट गरायो, ती सबै विस्फोटक पदार्थ आफैँले बनाएको बयान दिएका छन् । प्रहरीले उनका साथबाट बम कसरी बनाउने भन्ने विधिसमेत फेला पारेको थियो । स्रोतले भन्यो, ‘यदि सही मार्गमा लागेको भए उनी राम्रो वैज्ञानिक बन्न सक्थे ।’ (नयाँ पत्रिका दैनिकबाट )

No comments: