Pages

Sep 23, 2009

अमेरिका लैजान धमलाको मुद्दा फिर्ता

सरकारले मुद्दा फिर्ता लिएपछि पत्रकार ऋषि धमला प्रधानमन्त्री माधवकुमार नेपालसँगै अमेरिका उडेका छन् । सरकार हातहतियार तथा खरखजनाको अभियोगमा धमलाविरुद्ध अदालतमा मुद्दा लडिरहेको थियो ।
रणवीर सेनामा संलग्न रहेर एक व्यापारीसँग पैसा असुलीको प्रयास गरेको र उपत्यकामा भएको विस्फोटका घटनामा संलग्न रहेको अभियोगमा २१ माघ ०६५ मा धमला पक्राउ परेका थिए । अदालतले धमलालाई तारेखका छाडे पनि उनीसँगै पक्राउ परेका पत्रकार रामशुभक महतो र वीरेन्द्र केएमलाई भने थुनिराखेको थियो । सरकारले आइतबार तीनैजनाविरुद्धको अभियोग फिर्ता लिएको छ ।
स्रोतका अनुसार परराष्ट्रमन्त्री सुजाताले धमलाको मुद्दा फिर्ता लिन दुई महिनाअघि नै मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेकी थिइन् । तर, गृहमन्त्री भीम रावलका कारण सो प्रस्ताव स्थगित भएको थियो । तर, राष्ट्रसंघको महासभामा अमेरिका जाने प्रधानमन्त्रीको टोलीमा रिपोर्टर्स क्लबका अध्यक्षसमेत रहेका धमला पनि परेपछि मुद्दाको विषय फेरि उठेको थियो ।
स्रोतका अनुसार सरकारले प्रधानमन्त्रीको अमेरिका भ्रमण टोलीमा ऋषि धमलालाई राखे पनि अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । आतंकवादी संगठनमा संलग्न रहेको भनेर हातहतियार तथा खरखजनाको मुद्दा लगाउने सरकारले नै धमलालाई प्रधानमन्त्रीसँगै अमेरिका लग्न थालेपछि अमेरिकी दूतावासले आपत्ति जनाएको थियो ।
भिसा अस्वीकार भएपछि परराष्ट्रमन्त्री सुजाता कोइरालाले धमलाविरुद्धको मुद्दा फिर्ता लिन गृहमन्त्री रावललाई दबाब दिएकी थिइन् । गृहमन्त्रीले भने अदालतमा विचाराधीन मुद्दामा हस्तक्षेप नगर्ने अडान लिएका थिए । तर, परराष्ट्रमन्त्री सुजाताले दबाब दिएपछि प्रधानमन्त्री नेपालले धमलाको मुद्दा फिर्ता लिन गृहमन्त्रीलाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्री अमेरिका उड्नुअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रावलले धमलाविरुद्धको मुद्दा फिर्ता लिन प्रस्ताव राखेका थिए । तर, मधेसी मन्त्रीहरूले धमलाको मुद्दा फिर्ता लिने भए दुईजना मधेसी पत्रकारलाई पनि थुनिराख्न पाइन्न भनेर अडान लिएका थिए । मधेसी मन्त्रीहरूको अडानका कारण धमलासहित रामशुभक र वीरेन्द्रको मुद्दा पनि सरकारले फिर्ता लिएको छ ।
सरकारले मुद्दा फिर्ता लिए पनि अदालती औपचारिकता पूरा नभएसम्म रामशुभक र वीरेन्द्र डिल्लीबजार कारागारमै रहनेछन् । तर, धमला भने सरकारको सिफारिसमा आइतबार नै भिसा बुझेर अमेरिका उडेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले धमलासहित तीन पत्रकारको नाममा रहेको मुद्दासमेत फिर्ता लिने निर्णय गरे पनि रणवीर सेनाको सैन्य इन्चार्ज भनिएका मनोज महतोको मुद्दा भने फिर्ता भएको छैन । मनोज पनि दुईजना मधेसी पत्रकारसँगै पक्राउ परेका थिए ।
उपत्यकामा शृंखलाबद्ध बम विस्फोट गराउँदै आएको रणवीर सेनामा संलग्न रहेको आरोपमा रिपोर्टर्स क्लबका अध्यक्ष धमला पक्राउ परेका थिए । बम विस्फोट, हतियारको कारोबार र फिरौती संकलनको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गत वर्ष २१ माघमा उनलाई पुतलीसडकस्थित रिपोर्टर्स क्लबबाट साँझ ६
:३० बजे पक्राउ गरी हनुमानढोका पुर्‍याएको थियो । प्रहरीले त्यसअघि १९ माघमा पक्राउ गरेका रामशुभक र मनोजको जानकारीको आधारमा क्लबका सुनसरी शाखा अध्यक्ष वीरेन्द्र केएमलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले धमला रणवीर सेनाका सहयोगी, रामशुभक महतो उपत्यका इन्चार्ज, मनोज महतो उपत्यका सैन्य इन्चार्ज, वीरेन्द्र केएम धमलाका सहयोगी रहेको दाबीसहित हातहतियार तथा खरखजना र जबर्जस्ती रकम असुलीको अभियोगमा मुद्दा दायर गरेको थियो । प्रहरीले धमला र रणवीर सेनाका उपत्यका इन्चार्ज मनोज महतोबीच भएको टेलिफोन संवाद भन्दै सार्वजनिक गरेको अडियो टेपमा अपहरण, विस्फोट र फिरौतीसम्बन्धी संवाद छ । तर, धमलाले भने सो टेप नक्कली भएको दाबी गर्दै आफू रणवीर सेनामा संलग्न नभएको दाबी गरेका थिए । यही दाबीका आधारमा उनलाई अदालतले साधारण तारेखका छाडेको थियो ।
रणवीर सेनाले राजतन्त्र र हिन्दू राज्यको माग गर्दै तराईमा हिंसात्मक क्रियाकलाप गर्दै आएको छ । अघिल्लो वर्ष रणवीर सेनाले उपत्यकामा आफ्नो गतिविधि तीव्र बनाएको थियो । गत वर्ष रणवीर सेनाले एक साताभित्रै त्रिभुवन विमानस्थलको मुख्यद्वार, दरबार हाइस्कुल र काठमाडौं मलअगाडि बम विस्फोट गराएको थियो । यसबीचमा प्रहरीले रणवीर सेनाका प्रमुख कुमार पाण्डेलाई पक्राउ गरिसकेको छ । नेपाल डिफेन्स आर्मीका प्रमुख रामप्रसाद मैनालीको जानकारीको आधारमा मोरङ प्रहरीले विराटनगर- ४ मा बस्ने पाण्डेलाई दुई साताअघि पक्राउ गरेको हो । पाण्डे प्रहरी हिरासतमा छन् ।(naya patrika bata)

No comments: