Pages

Sep 23, 2009

'नेपाली अष्ट्रेलियाको सामुदायिक भाषा हुनसक्छ'

अष्ट्रेलियन माइग्रेसन तथा सेक्रेटरी लवरी फरगुसनले जनसंख्या र बसोवास मापदण्डको आधारमा नेपाली भाषालाई पनि अष्ट्रेलियन सामुदायिक भाषा सरह मान्यता दिन सकिने बताएका छन्। मानवअधिकार तथा लोकतान्त्रिक नेपाली मञ्च अष्ट्रेलिया (न्यूरेडिप) को दोस्रो अधिवेसनमा आयोजित कार्यक्रममा फरगुसन उक्त जानकारी दिएका हुन्। उनले नेपाली समुदायलाई प्रोपागण्डाको आधारमा नभई आफनो एकिन संख्या आधिकारिक रुपमा प्रकाशमा ल्याउन पनि सुझाउ दिए।
कार्यक्रमका प्रमुख अतिथि युवा नेता तथा सभासद् गगन थापाले राजनितिक दलहरु बीच सहकार्य र सहमति विना नेपालमा नया"संविधान बन्न नसक्ने औल्याउदैं नेपालमा एउटा पार्टीको जय र अर्काको पराजय कहिल्यै नहुने मार्ग आपनाए पनि राजनितिक दलहरुबीच एकता कायम हुन नसक्दा सबै युवाहरुमा वितृष्णा जागेको बताए। संविधान बन्न अब ९ महिनामात्र बाँकी छ, तपाई गैरआवासीय नागरिकहरुले पनि राजनीतिक दलहरुलाई झकझकाउने बेला यहि हो'- संविधान सभाको मैलिक अधिकार समितिका सदस्य समेत रहेका थापाले भने" संविधानमा ६५ वटा मौलिक अधिकार समेटिन लागेको बताउँदै गैर आवासीय नागरिकलाई दोहोरो नागरिकता दिने सम्बन्धमा तयारी भैसकेको तर त्यस्तो नागरिकले नेपालमा अरु नेपाली सरह अधिकार पाए पनि भोट दिन र चुनावमा उठ्न भने नपाउने सर्त रहेको खुलासा गरे।
राजनितिक दलका नेताहरु आफ्नो पार्टीगत र व्यक्तिगत स्वार्थ भन्दा पनि आफू भित्रको मूल्य मान्त्यता ठुलो कुरा रहेको बताउदै भने -संसारकै सस्तो श्रम दुवै, कतार मलेसिया तिर गइरहेको छ। त्यसको सदुपयोग गर्न हामी सकेका छैनौं।
निकै भावपूर्ण शैलीमा खरो भाषण गरेका थापाले शीर्ष नेताहरुलाई देशको चिन्ता भन्दा पनि आफनो चुनाव क्षेत्र गुम्छ कि भन्ने चिन्ता बढी भएको प्रसंग उल्लेख गर्दै भने- नयाँ संविधान बनेपछि मलाई राजनीतिबाट विदा लिनुपर्छ भनेर कसैले भन्छ भने म राजी छु। म मेरो बाख्रा पालन र कुरिलो खेतीतर्फ लाग्न सक्छु भन्दा सबै सिड्नीवासी नेपालीहरु आश्चार्य माने। उनले केही वर्ष अगाडि नुवाकोटको उजाड पाटोमा कुरिलो खेति र बाख्रा पालन सुरु गरेका खुलाषा गर्दै भने- म केही वर्ष पछि म मेरो व्यवसायबाट एउटा सफल उद्योगपति बन्नेमा म निश्चिन्त छु। देश विकासका लागि राजनीतिक नेताहरुमा केही त्याग हुनुपर्ने उनको ठम्याई थियो।कार्यक्रममा अष्ट्रेलिया स्थित नेपाली राजदूत योगेन्द्र ढकालले एउटा मात्र भाषाको एकाधिर अन्त्य हुनुपर्ने बताउदैं आगामी वर्ष नेपाल र अष्ट्रेलिया बीच दौत्य सम्बन्ध गाँसेको ५०औं वर्षको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागेको बताए। भने-नेपाल सम्बन्धी पैरवी गर्ने उपयुक्त समय यही हो, यस अवसरका नेपाल र अष्ट्रेलिया अंकित झण्डाको हुलाक टिकट पनि ल्याउने तयारी हुँदैछ।
कार्यक्रममा के नेपाल असफल राष्ट्र हो त भन्ने विषयमा डा. होम मूर्ति पन्तले कार्यपत्र प्रस्तुत गरे। कार्यक्रममा मातृभाषा जन्मसिद्ध अधिकार विषयमा होम पाण्डेले कार्यपत्र प्रस्तुत गरे। कार्यपत्र माथि डा. कृष्ण हमालले टिप्पणी गरेका थिए। उक्त कार्यक्रममा एसियन गोभरमेन्सका सामूदायिक जनसम्पर्क अधिकृत मार्क ल्याकले नेपाली भाषा विकासमा आफ्नो सहयोग रहने बताए। सो कार्यक्रममा गोर्खा नेप्लीज कम्युनिटीका अध्यक्ष डा. नारायण प्रधान ,नेप्लीज अष्ट्रेलियन एसोसियनकी अध्यक्ष इन्द्रा वन,आदिवासी जनजातिका अध्यक्ष गणेश तामाङ, एनआरएन अष्ट्रेलियाका अध्यक्ष ध्रुव सुवेदी, लोकतान्त्रिक नेपाली मञ्चका अध्यक्ष हरि लामिछाने, नेपाल अष्ट्रेलिया डेमोक्रेटिक फोरमका अध्यक्ष डिल्ली ढकाल, जनप्रगतिशिल मञ्चका अध्यक्ष हिमलाल गैरे,समाजसेवी तथा न्यूरेडिपका सल्लाहकार भवानी ओली, एनएसडब्लुका जनरल काउन्सीलर दिपक खड्का, महिला अधिकारवादी इन्दु गौतम लगायतले मन्तव्य राखेका थिए।
"भाषा माथिको अधिकार जन्मसिद्ध मानव अधिकार" नाराका साथ सम्पन्न सो अधिवेसनले सर्वसम्मतबाट रमेश पाण्डेलाई अध्यक्षमा चयन गरेको छ। त्यस्तै उपाध्यक्षमा चित्र लिम्बु, महासचिवमा होमनाथ पाण्डे, सचिवमा दिनेश पहाडी, कोषाध्यक्षमा शुधाम्सु शाह, सदस्यहरुमा चर्तुभुज खरेल, सन्तोष लामा, उत्तम निरौला, उषा नेपाल, अनिता अधिकारी आले, चयन भएका छन्। मञ्चका अध्यक्ष तथा सो कार्यक्रमका सभापति रमेश पाण्डेले उपस्थित सबै अतिथि तथा सहभागीहरुलाई धन्यवाद दिएका थिए।(nagariknews bata)

No comments: